तीनकुने सामूहिक हत्या : अभियुक्त सञ्जयलाई थुनामा पठाउन आदेश, गोलघरमा राखिने‍

काठमाडौँ जिल्ला अदालतले तीनकुने सामूहिक हत्या प्रकरणका अभियुक्त सञ्जय भण्डारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

काठमाडौँ– काठमाडौँ जिल्ला अदालतले सञ्जय भण्डारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला न्यायाधीश दीनबन्धु बरालको एकल इजलासले भण्डारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

तीनकुने सामूहिक हत्याका अभियुक्त भण्डारीलाई केन्द्रीय कारागारको गोलघरभित्र लगिएको छ। सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै भण्डारीलाई गोलघरमा लगिएको हो। केन्द्रीय कारागार प्रमुख ललितकुमार बस्नेतका अनुसार गोलघरभित्र कैदीबन्दीलाई कडा सुरक्षा घेराभित्र राखिन्छ।

गत २९ भदौमा काठमाडौँको तीनकुनेस्थित दिव्य सः मिलमा चार व्यक्तिको हत्याको आरोपमा प्रहरीले भण्डारीलाई पक्राउ गरेको थियो। उनीमाथि नवीन भनिने विशाल राई, दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको हत्या गरेको आरोप छ।

प्रहरीको अनुसन्धानपछि उनीविरुद्ध शुक्रबार सरकारी वकिलको कार्यालय, काठमाडौँले मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा शुक्रबार नै थुनछेक बहस भएर जिल्ला अदालतले उनलाई थुनामा पठाउन आदेश दिएको हो। काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माका घटनामा संलग्नता देखिने पर्याप्त आधार देखिएकाले भण्डारीलाई थुनामा पठाउन आदेश भएको हो।

उनले विशालको हत्या गर्ने उद्देश्यले खुकुरी प्रहार गरेको, त्यसक्रममा देखेपछि अरू तीन जनालाई पनि आक्रमण गरेको बयान दिएका छन्। उनले प्रहरीसँगको बयानका क्रममा थप ९ ठाउँ धारिलो हतियार प्रयोग गरी मान्छेको हत्या गरेको बताएका छन्।