१० वर्षअघिसम्म पाल्पाका पहाडी भेगका सबैजसो ठाउँमा कोदो लगाइन्थ्यो। तर, अहिले गाउँमा बीउसम्म पाउन मुस्किल पर्न थालेको किसान बताउँछन्।
रामपुर– ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन्। गाउँका बारी कोदो खेतीले भरिन्थे। गाउँमा सबैका जसो घरमा कोदो लगाइन्थ्यो। पछिल्ला वर्षमा भने कोदो खेती कम हुँदै गएको बताउँछिन्, पाल्पाको रामपुर–१ कुमैडाँडाकी ६५ वर्षीया शान्ति विश्वकर्मा।
“जवानी उमेरमा दिनभर बारीमा साथीहरूसँग कोदो रोप्दा रमाइलो हुन्थ्यो, घरमा मुरीका–मुरी उब्जिन्थ्यो, अहिले त सबैले लगाउन छाड्दै गए, गाउँमा कोदो खेती गर्न कसैले चाख मान्दैनन्,” उनले भनिन्। आफूले जान्ने बुझ्ने उमेर भएदेखि नै कोदोखेती गरे तापनि अहिले आएर सबैले खेती गर्न छाड्दै जाँदा गाउँका बारी बाझिन थालेकोमा उनको चिन्ता छ।
“अहिलेका पुस्तालाई कोदो के हो? भन्ने नै थाहा हुन छाड्यो,” उनले भनिन्, “आफ्नै हातले उब्जाएको पोसिलो कोदो सेवनले शरीरलाई तागत दिन्थ्यो।” उनले उमेरले बुढ्यौलीपन टेके पनि थोरै भए पनि कोदो लगाउन भने छाडेकी छैनन्।
गाउँघरमा पाका पुस्ताको मात्र बसोबास, खेती गर्न झन्झटले कोदो लगाउन छाड्दै गएको पाइन्छ। पाल्पामा कोदो खेतीप्रति किसानको आकर्षण घट्दै गएको छ। कोदो फल्ने ठाउँमा नै किसानले खेती गर्न छाडेपछि अहिले बीउ जोगाउनका लागि पाका पुस्ताले निरन्तरता दिएका छन्। युवापुस्ताको यसप्रति आकर्षण देखिँदैन।
१० वर्षअघिसम्म पहाडी भेगका सबैजसो ठाउँमा कोदो लगाइन्थ्यो। कोदो राम्रै उब्जनी हुन्थ्यो। तर, अहिले गाउँमा यसको बीउसम्म पनि पाउन मुस्किल पर्न थालेको किसान बताउँछन्। पहिला–पहिला गाउँघरमा प्रशस्त कोदो उत्पादन गरेर चामलसँग साट्ने चलन थियो। वर्ष दिनभर कोदोबाट चामल साटेर गुजारा चलाउने गरे तापनि हिजोआज व्यावसायिक रूपमा खेती गर्न छाडिएको छ।
अन्य कृषि बालीको तुलनामा कोदो खेतीलाई धेरै लगानी र मेहनत गर्नु नपरे तापनि किसान आफैँले खेती गर्न रुचि देखाउन छाडेको रामपुर–१ कुमैडाँडाका गोवर्द्धन वंशी बताउँछन्। कम्तीमा बर्सेनि चारदेखि पाँच मुरीसम्म कोदो उत्पादन गर्ने गरेकोमा अहिले मुस्किलले ८–१० पाथी उब्जाउ हुने गरेको उनले सुनाए।
“गाउँमा बसोबास गर्ने भनेको ज्येष्ठ नागरिक मात्रै हो, युवापुस्ता शहर बजार, विदेशतिर पलायन भए,” उनले भने, “हिजो आफ्नै हातले मुरीका–मुरी फलाएको कोदो अहिले थोरै बीउ जगेर्नाका लागि मात्रै लगाउने गरिएको छ, बुढ्यौली लाग्दै गर्दा खेती गर्नै नसक्ने भएपछि कसको के नै लाग्छ र?”
यस वर्ष वंशीले करिब एक रोपनी जग्गामा कोदो लगाएका छन्। मानिसको स्वास्थ्यका लागि कोदोको महत्त्व धेरै रहे पनि खेती गर्ने जनशक्ति गाउँमा नहुँदा उत्पादन कम हुँदै गएको कविता सुनारले बताइन्। उनले यस वर्ष करिब दुई रोपनी बारीमा कोदो लगाएकी छन्। पहिले एक वर्षमा पाँच मुरीसम्म कोदो उत्पादन गर्ने गरेको उनको भनाइ छ।
तर, बजारमा कोदोको माग भने बढ्दो छ। धेरै किसानले पाखो बारीमा कोदो लगाएर राम्रै कमाइ गर्थे तर अहिले भने धेरैले कोदो लगाउन छाडिसकेका छन्। औषधिका रूपमा समेत प्रयोग हुने कोदोलाई पोसिलो अन्न मानिन्छ। बढ्दो शहरीकरणको प्रभावले गाउँमा कोदो फल्ने जमिन बाझिन थालेका छन्। मानिस शहर पस्न थालेपछि कोदोले भरिभराउ हुने जमिन बाझिँदै गएका हुन्।
कम मेहनतमा उत्पादन बढी हुने प्रयोग तथा उपयोगका क्रममा पोषणयुक्त खाद्यान्न बालीभित्र पर्ने भए पनि पोसिलो कोदोको पछिल्लो समयमा खाद्यान्नमा भन्दा अन्यत्र प्रयोग बढी हुन लागेकाले पनि कोदो खेती लोप हुने अवस्थामा पुगेको छ। परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकैमा घुसुवा बालीका रूपमा लगाइने कोदो प्रायजसो जिल्लाका सबै गाउँबस्तीमा हुन्थ्यो तर आजभोलि कमै देख्न सकिन्छ।
खाद्यान्नको रूपमा प्रयोग गरिने कोदो आजभोलि मदिरा बनाउन प्रयोग गरेका कारण कम मात्रामा खेती हुने गरेको किसान बताउँछन्। गाउँघरमा हेपिएको कोदो अहिले शहर बजारतिर खोजीखोजी खाना थालिएको छ। स्वास्थ्यका लागि लाभदायक अन्न फलाउन छाडेर बजारमा पाइने प्याकेटका तयारी खाना खान थालेपछि एकातिर स्थानीय अन्न लोप हुँदै छन्, भने अर्कोतिर मानिसमा अनेक किसिमका रोगको सङ्क्रण बढ्न थालेको छ। धान, गहुँ र मकैजस्तै कोदोलाई किसानले महत्त्व नदिएका कारण यो लोप हुँदै गएको हो।
गाउँघरमा परम्परागत रूपमा खेती गरिँदै आएको कोदो लोप हुने अवस्थामा छ भने सहर बजारमा यसको माग धेरै छ। बजारका ठूला–ठूला होटल रेस्टुराँ, होमस्टेमा कोदोको परिकार पाक्ने गर्दछ । कोदोबाट बनाइएको ढिँडो, सेल रोटीलगायतका परिकारमा ग्राहकको आकर्षण छ। होमस्टेमा कोदोबाट विभिन्न परिकार बनाएर खुवाउने चलन पनि छ।
अहिले गाउँघरमा कोदोको परिकार खासै पाक्दैनन् तर होटलमा यसको परिकार ग्राहकको रोजाइमा परेको छ। पहिला–पहिला कोदो गरिब, विपन्नको घरमा खाने अनाजको रूपमा समेत लिइन्थ्यो भने अहिले ठूला घर परिवारका सदस्यको रोजाइमा कोदो पर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
