मुस्ताङमा पहिले–पहिले लामा नाच अवलोकन गर्न स्थानीयवासी मात्रै हुन्थे। केही वर्षयता भने नाच अवलोकन गर्न देशी तथा विदेशी पर्यटकसमेत आउने गरेका छन्।
म्याग्दी– मुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ। धार्मिक र प्राकृतिकसँगै मुस्ताङका बासिन्दाले परम्परागत मौलिक कला तथा संस्कृतिको जगेर्ना गरेर पर्यटक भित्र्याउने माध्यम बनाएका हुन्।
मुस्ताङमा तीर्थयात्री र पैदलयात्री मात्र नभएर संस्कृति, रहनसहन, जीवनशैलीको अध्ययन, अवलोकनका लागि समेत पर्यटक आउने गरेका घरपझोङ गाउँपालिका–५ ठिनीस्थित थकाली सामुदायिक होमस्टेका सञ्चालक जुमा थकालीले बताइन्।
“पृथक भूगोल, मुक्तिनाथ, दामोदरकुण्ड, कागबेनी जस्ता धार्मिक स्थल र ऐतिहासिक दरबार मात्र नभएर बस्तीअनुसार फरक फरक संस्कृतिको पनि अवलोकन गर्न पाइन्छ,” उनले भने, “भदौरे, कुमार जात्रा, लामा नाच, थार्तुङ, तिजी र फागुपूर्णिमाका अवसरमा देखाइने मौलिक गीत तथा नृत्यले पर्यटक आकर्षित गर्न तथा बसाई लम्ब्याउन सहयोग मिलेको छ।”
ठिनी नजिकै रहेको घरपझोङ गाउँपालिका–५ हुसरकाङ डाँडास्थित कुछप तेरंगा गुम्बामा शुक्रबार सकिएको लामा नाच (धेक्याप) अवलोकन गर्न स्थानीयवासीका साथै स्वदेशी र विदेशी पर्यटकको बाक्लो उपस्थिति थियो। कुछप तेरंगा गुम्बा संरक्षण समितिका अध्यक्ष कुलबहादुर थकालीले लामा नाच अवलोकन गर्न स्थानीयवासीकै हाराहारीमा स्वदेशी, विदेशी पर्यटक र तीर्थयात्री आएका बताए।
“पहिले पहिले लामा नाच अवलोकन गर्न स्थानीयवासी मात्रै हुन्थे,” उनले भने, “केही वर्षयता परम्परागत नाच प्रदर्शनी अवलोकन गर्न आउने पर्यटकको संख्या बढेको छ।”
सडक यातायातको सुविधा, प्रचारप्रसार आदी कारण परम्परागत सांस्कृतिक मेला पर्वमा पर्यटकको सहभागिता बढेको थकालीको भनाइ छ। मुस्ताङको प्रमुख गुम्बामा वर्षमा एक पटक लामा नाच हुने गर्छ। कुछप तेरंगा गुम्बामा लामा नाच प्रदर्शनीका लागि असोज २३ गतेदेखि पूजाआजा शुरू भएको थियो।
लामाहरूले उवाको पिठो, घ्यूलगायत सामग्रीको प्रयोग गरेर बनाएको पूजा सामग्रीलाई धार्मिक विधिअनुसार गुम्बामा भित्र्याएर शुरू भएको उक्त नाचको विधि ती सामग्री सेलाएपछि सकिएको गुम्बाका लामा सुवास थकालीले बताए।
“पद्यसम्भको पाला आठौँ शताब्दीदेखि लामा नाच देखाउने चलन छ। देवताका विभिन्न रूपलाई लामा नाचमा प्रस्तुत गरिन्छ,” उनले भने, “लामा नाच अवलोकन गरेमा ग्रह दशा हट्ने र जीवनमा सफलता मिल्छ। एक हजार ३०० वर्षदेखिको लामा नाचलाई बचाएर राखेका छौँ।”
सो अवसरमा बौद्ध धर्मगुरु पद्यसम्भवको जीवनसँग सम्बन्धित सन्देशमूलक १३ प्रकारका नाच प्रदर्शन गरिएको थियो। हसन, टोपी बज्राचार्य, हयग्रीब, गुरु पद्यमसम्भव, क्रोधी गुरु र सिंहमुखी, पञ्चदेवी, महाकाल, क्षेत्रपाल, महाराजा, जरायो, च्याहान दाता, दुष्ट राजा र एक डाकु शीर्षकको नाच प्रदर्शन गरिएको हो।
लामा नाच अवलोकन गर्न आएका भारतको तामिलनाडुका रञ्जित झाले मुस्ताङ भ्रमणका क्रममा प्रकृति र धार्मिकसँगै फरक संस्कृतिको बारेमा जानकारी लिन पाएकामा खुशी व्यक्त गरे। अमेरिकी पर्यटक रेमिनले धेरै वर्ष पुरानो संस्कृति अझै जीवित देख्दा दंग परेको बताए।
यसपालिको लामा नाच सञ्चालन गर्न बेलायतमा रहेका ठिनीवासीले आर्थिक सहयोग गरेका थिए। प्रवासीको सहयोगमा ठिनीदेखि गुम्बासम्म निःशुल्क बस, भक्तजनलाई भोजन र खाजाको व्यवस्थापन गरिएको थियो। बौद्ध धर्ममा माइला छोरा लामा बस्ने चलन छ। ठिनीमा हाल २२ जनाभन्दा बढी लामा छन्। ठिनीका लामाका साथै छिमेकी गाउँका पनि लामा नृत्यका लागि गुम्बामा आएका छन्। कुछप तेरंगा गुम्बाको धार्मिक र पर्यटकीय सम्भावना छ।
पर्यटकीय गन्तव्यको रुपमा विकास भएको ढुम्बा तालको नजिकै डाँडामा रहेको गुम्बा परिसरबाट जोमसोम, ठिनी, मार्फा, स्याङलगायत भूगोलको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
