मणिपाल अस्पतालका चिकित्सक कुट्ने २ जना कारागार चलान

उक्त घटनामा संलग्न सातजना जनही एक लाख धरौटी बुझाएर तारेखमा रिहा भएका छन्। 

फाइल तस्वीर

कास्की– तीन साताअघि पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने र अस्पताल तोडफोड गर्ने दुई जना कारागार चलान भएका छन्।

घटनामा संलग्न सातजना जनही एक लाख धरौटी बुझाएर तारेखमा रिहा भएका छन्। प्रहरीले पक्राउ परेकालाई स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो।

कास्की जिल्ला अदालतले उनीहरूलाई कारबाहीको फैसला गरेको हो। कारागार चलान हुनेमा पोखरा महानगरपालिका–१७ हनुमान टोलका सुशील कार्की र पोखरा–५ का विनय गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

यसैगरी घटनामा संलग्न पोखरा–४ का सुजित मुल्मी, पोखरा–५ का अभिनास गुरुङ, अरुण गुरुङ, पोखरा–९ का नितेश गुरुङ, विवेक गुरुङ र पोखरा–२० का मनिष थापा र पोखरा–११ प्रदीप गुरुङ जनही एक लाख धरौटी राखी तारेखमा छुटेको डीएसपी श्रवणकुमार विकले जानकारी दिए। 

उनका अनुसार पहिचान खुलेका १० जना अझै फरार रहेकाले खोजी भइरहेको छ।