मध्यपश्चिम विश्वविद्यालयको बेरुजु १ अर्ब ५७ करोड

आव २०६८/६९ मा ८३ लाख ९८ हजार रहेको विश्वविद्यालयको बेरुजु २०७८/७९ मा एक अर्ब १२ करोड ५७ लाख पुगेको छ।

कर्णाली– मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब १२ करोड ५८ लाख पुगेको छ। विश्वविद्यालय प्रशासनले सुर्खेतको वीरेन्द्रनगरस्थित शुक्रबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन कार्यक्रममार्फत बेरुजु अवस्था सार्वजनिक गरेको हो। 

विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेलले २०६८/६९ मा ८३ लाख ९८ हजार रहेको बेरुजु आव २०७८/७९ मा एक अर्ब १२ करोड ५७ लाख पुगेको बताए। 

असुलउपर र सैद्धान्तिक एवं प्रक्रियागत बेरुजु धेरै रहेको उनले बताए। असुलउपर गर्नुपर्ने बेरुजु ६३ लाख ६६ हजारमध्ये केही प्रतिशत मात्र असुल भएको छ। यस्तै, १२ करोड ४० लाख बेरुजु सम्परीक्षण गरिएको र करिब एक अर्ब बेरुजु विश्वविद्यालयले फर्छ्योट गर्न बाँकी रहेको उनले बताए। 

“आर्थिक वर्ष २०७५/७६ मा उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइराला र रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लको पदावधिमा सबैभन्दा बढी ४० करोड ५९ लाख ६० हजार बेरुजु आएको छ,” उनले भने, “यहाँ असुलउपर गर्नुपर्ने बेरुजु पनि छ।”

१३ वर्षको बेरुजुलाई सबै आफ्नो पालामा गरेकोजस्तो गरेर प्रचार गरिएपछि भ्रम हटाउन पत्रकार सम्मेलन गरिएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले बताए।