उत्तर कोरियाले रुसलाई सैन्य उपकरण पठाएको अमेरिकाको दाबी

गत महिना उत्तर कोरियाली नेता किम जोङ उनले सम्भावित सैन्य सहयोगबारे छलफल गर्न रुसको भ्रमण गरेका थिए।

तस्वीर: एफपी

उत्तर कोरियाले युक्रेनमा प्रयोगका लागि रुसलाई ठूलो मात्रामा सैन्य उपकरण प्रदान गरेको अमेरिकाले दाबी गरेको छ। 

हालैका हप्तामा प्योङयाङले एक हजार कन्टेनर र उपकरण आपूर्ति गरेको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताए। उत्तर कोरियाको नाजिनमा ढुवानीका लागि जम्मा गरिएका ३०० कन्टेनरका तस्वीरसमेत सार्वजनिक भएका छन्। 

युक्रेनी सीमाबाट करिब २९० किलोमिटर टाढा रहेको दक्षिणपश्चिमी रुसको एउटा आपूर्ति डिपोमा उक्त उपकरण समुद्र र रेलमार्फत निर्यात गरिएको किर्बीको भनाइ छ। 

गत महिना उत्तर कोरियाली नेता किम जोङ उनले सम्भावित सैन्य सहयोगबारे छलफल गर्न रुसको भ्रमण गरेका थिए। उनले कुनकुन हतियार आपूर्ति गरियो भन्ने खुलाएनन्। तर, अमेरिकाले यसअघि मस्कोलाई प्योङयाङबाट रकेट र तोपखाना खरिद गरेको बताएको थियो। 

रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेदेखि अमेरिकी अधिकारीहरूले लगातार उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गरेको बताउँदै आएका छन्।