सर्लाहीको लालबन्दी क्षेत्रमा १३२ केभी प्रसारण लाइनको तार फेर्न अवरोध

रोकिएको काम तत्काल अगाडि बढाउन नसके ढल्केबरबाट थप विद्युत् पश्चिमतर्फ पठाउन नसकी हिउँदमा वीरगन्जलगायतका क्षेत्रमा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्ने कुलमान घिसिङको भनाइ छ।

काठमाडौँ–  सर्लाहीको लालबन्दी क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन्। करिब ४१ वर्षअघि निर्माण गरिएको प्रसारण लाइनको मार्गाधिकारमा पर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति पाउनुपर्ने, उक्त जग्गालाई बैंक तथा वित्तीय संस्थामा धितो राखी ऋण लिन पाउनुपर्ने लगायतका माग राखी स्थानीयले लाइनको तार (कन्डक्टर) फेर्ने कार्यमा अवरोध गर्दै आएका हुन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार स्थानीयको अवरोधका कारण गत १९ असोजबाट काम ठप्प छ।

प्राधिकरणले पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमताबृद्धि गरी विद्युत् प्रवाह बढाउन मकवानपुरको हेटौँडादेखि धनुषाको ढल्केबर सबस्टेसनसम्मको करिब १३६ किलोमिटर खण्डमा पर्ने कम क्षमताको पुरानो तारलाई बदलेर नयाँ तार राखी प्रसारण प्रणाली सुधार गर्न लागेको हो। 

ढल्केबर सबस्टेसनबाट सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सबस्टेसनसम्मको करिब ४० किलोमिटर लाइनमध्ये एउटा सर्किटको करिब ३६ किलोमिटर तार फेरिएको छ। तर, लालबन्दी बजार क्षेत्रका स्थानीयको अवरोधका कारण करिब ४ किलोमिटर तार फेर्ने काम रोकिएको छ। तार बदल्ने क्रममा टावरमा जोडिएको पुरानो तार काटेर अस्थायी रूपमा बाँधी राखिएको छ। एउटा सर्किट बन्द हुँदा ढल्केबरबाट पश्चिमतर्फ र हेटौँडाबाट पूर्वतर्फ विद्युत् प्रवाह गर्न समस्या हुँदा यसले देशकै समग्र विद्युत् प्रसारण प्रणाली प्रभावित बनाइरहेको छ।

कन्डक्टर बदल्न एउटा सर्किट बन्द गरिएकाले अहिले लाइन क्षमताले नधान्दा ट्रिपिङलगायतका समस्या आई विद्युत् मागलाई व्यवस्थापन गर्ने असहज भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

“नयाँ प्रसारण लाइन निर्माणमा जताततै अवरोध छ, अब ४०/४१ वर्षअघि बनेर चालू अवस्थामा रहेको लाइनमा समेत तार फेर्न खोज्दा अहिले आएर क्षतिपूर्तिको माग गर्दै अवरोध हुन थालेको छ, यस्तो अवस्थामा कसरी काम गर्न सकिन्छ?अवरोध हटाउन हाम्रो तर्फबाट सक्दो प्रयास र पहल भइरहे तापनि सफल हुन सकिरहेका छैनौँ,’ कार्यकारी निर्देशक घिसिङले भने। 

तत्काल काम गर्न नसके ढल्केबरबाट थप विद्युत् पश्चिमतर्फ पठाउन नसकी हिउँदमा वीरगन्जलगायतका क्षेत्रमा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ। संवेदनशील लाइनको काममा अवरोध नगरिदिन आग्रह उनले आग्रह गरे।

आयोजना प्रमुख राजेन्द्र कोइरालाले अवरोधका विषयमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी, लालबन्दी नगरपालिका प्रमुख, प्रहरी प्रमुख, सम्बन्धित वडाध्यक्ष, स्थानीयलगायतसँग पटक–पटक छलफल गरिए तापनि कुनै निष्कर्ष आउन नसकेको बताए। स्थानीयले भाग पूरा नभएसम्म उनीहरूको जग्गामा टेक्दै नटेक्न चेतावनी दिएको उल्लेख गर्दै प्रमुख कोइरालाले समस्या समाधानका लागि स्थानीय तह, प्रशासनसँग समन्वय भइरहेको भएको उल्लेख गरे।

१३२ केभी प्रसारण लाइनको मध्यबिन्दुबाट दायाँबायाँ ९/९ मिटर मार्गाधिकार तोकिएको छ। बैंक तथा वित्तीय संस्थाले उक्त मापदण्डभन्दा विपरीत ५० मिटरसम्म पर्ने जग्गाको समेत धितो नलिने गरेको स्थानीयले गुनासो गर्दै आएका छन्।