माथिल्लो अरुण आयोजनामा १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण सहायत जुटाउन विश्व बैंक सकारात्मक

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि १ खर्ब ३० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैंक सकारात्मक भएको छ।

मोरक्को– माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि १ खर्ब ३० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैंक सकारात्मक भएको छ।

विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर र विकास वित्ततर्फका उपाध्यक्ष आकिहिको निसिओसँगको समीक्षा बैठकमा शनिबार अर्थमन्त्री डा. प्रकाशशरण महतले राखेको प्रस्तावमा सकारात्मक निष्कर्ष निस्किएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

माथिल्लो अरुण जलविद्युत् आयोजनामा विश्व बैंकको सहुलियतपूर्ण कर्जाको अंश बढाउने, निजी क्षेत्रबाट स्वलगानी बढाउने विषयमा नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलले आगामी हप्ता वासिंगटनमा प्राविधिक तथा वित्तीय पक्षसँग छलफल गर्न लागेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार सहुलियतपूर्ण ऋण उपलब्ध गराउने संरचना अन्तर्राष्ट्रिय विकास सहायता (आईडीए)को २१औँ रिप्लेनिस्मेन्ट बैठक नेपालमा आयोजना गर्न अर्थमन्त्री डा. महतले राखेको प्रस्तावमा समेत विश्व बैंक सकारात्मक भएको हो।

“मन्त्री डा. महतले उपाध्यक्षद्वयसँग गरेको छलफलमा हाल चालु परियोजनाको प्रगति समीक्षासमेत भयो। गत वर्ष ९ दशमलव २ प्रतिशत मात्र वितरण भएकोमा कर्जालाई बढाउन पूर्वतयारीमा ध्यान दिनुपर्नेमा अर्थमन्त्री डा. महतले जोड दिनुभयो,” सचिवालयले भनेको छ। 

उनीहरूबीच साइट क्लियरेन्स तथा ठेक्का बन्दोबस्ततर्फ क्षमता अभिवृद्धि र धेरै क्षेत्रमा छरिएका आयोजनालाई दुई/चार वटा प्राथमिकताका क्षेत्रमा मात्र खर्च गर्ने गरी स्पिलओभर प्रभाव बढाउने विषयमा छलफलसमेत भएको थियो। ३०० मिलियन अमेरिकी डलर (३९ अर्ब रुपैयाँ बराबर)को बजेटरी सहायता चालु आर्थिक वर्षभित्र परिचालन गर्ने गरी तयारी गर्न दुवै पक्षको सहमति भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।