कोशीमा उत्पन्न राजनीतिक परिस्थितिले संघीय सरकारलाई असर गर्दैनः मन्त्री भुसाल

कोशी प्रदेशमा उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिले संघीय सरकारलाई असर नगर्ने मन्त्री डा. वेदुराम भुसालको दाबी छ।

काठमाडौँ– कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले नेकपा मुलुकमा एमालेले अत्यन्तै गैरजिम्मेवार भूमिका निर्वाह गरिरहेको आरोप लगाएका छन्। प्रदेश, संघ र सदनमा पनि एमालेले गैरजिम्मेवारी भूमिका निर्वाह गरिरहेको उनको भनाइ छ।

शनिबार जनकपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका नेतासमेत रहेका मन्त्री भुसालले कोशी प्रदेशमा उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिले संघीय सरकारलाई असर नगर्ने दाबी गरे। उनले एमालेले मुलुकमा अस्थिरता निम्त्याउने प्रयत्नलाई जारी राखेको सुनाए।

“एमाले मुलुकमा अस्थिरता चाहन्छ। र, अस्थिरतामा आफूले फाइदा लिन चाहन्छ। अहिले पनि उसको भूमिका त्यही नै छ,” उनले भने, “उसको प्रयत्न त होला, तर त्यसले तात्त्विक भिन्नता ल्याउँलाजस्तो मलाई चाहिँ लाग्दैन। कोशी प्रदेशमा चाहिँ अत्यन्तै साँघुरो मत भएको हुनाले त्यसो हुन गएको हो।”

फरक प्रसंगमा मन्त्री भुसालले सरकारले कृषि क्षेत्रमै रोजगारीको अवसर सिर्जना गर्नका लागि अभियान चलाउन लागेको बताए। बाँझो जमिनको पहिचान गरी त्यस्ता जमिनमा खेती गर्नका लागि किसानहरूलाई प्रेरित गर्ने उनको योजना थियो।