इजरायलमा हमासको आक्रमणमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ३०० पुगेको छ। मृतकमध्ये सबैभन्दा बढी इजरायली रहेका छन् भने एक सयभन्दा बढी विदेशी नागरिक छन्।
हमासले गत हप्ता इजरायलमाथि गरेको आक्रमणमा हताहत भएका वा बन्धक बनाइएकामध्ये सबैभन्दा बढी विदेशी अमेरिकी नागरिकहरू रहेको पाइएको छ।
एएफपीले सम्बन्धित देशका राजदूतावास र विदेश मन्त्रालयद्वारा सार्वजनिक तथ्यांकअनुसार इजरायलमा हमासको आक्रमणमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ३०० पुगेको छ। मृतकमध्ये सबैभन्दा बढी इजरायली रहेका छन् भने एक सयभन्दा बढी विदेशी नागरिक रहेको पुष्टि भएको हो।
गाजा पट्टीका स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणमा परी कम्तीमा दुई हजार २१५ जनाको मृत्यु भएको जानकारी दिएका छन्।
शनिबारसम्मको अपडेटअनुसार आक्रमणमा एक हजार २०० भन्दा बढी इजरायली नागरिकको मृत्यु भएको इजरायल सरकारले पुष्टि गरेको छ।
आक्रमणमा परी कम्तीमा २७ जना अमेरिकी नागरिकको मृत्यु भएको अमेरिकी अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार अनिर्दिष्ट संख्या तर एक दर्जनभन्दा बढी अमेरिकीहरू अपहरणमा परेको विश्वास गरिएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार हमास आक्रमणपछि हराइरहेका १४ जना अमेरिकीका परिवारसँग कुराकानी गरेका छन्।
ह्वाइट हाउसले उक्त कलका बारेमा कुनै विवरण सार्वजनिक गरेको छैन, तर बाइडेनले सीबीएसको ‘६०–मिनेट्स’ मा भने “यदि हामीले उनीहरूलाई फेला पार्न सक्यौँ भने हामी उनीहरूलाई घर फर्काउन आफ्नो शक्तिले भ्याएसम्म सबै कुरा गर्नेछौँ।”
त्यस्तै, थाइल्यान्डका प्रधानमन्त्री श्रेता थाभिसिनले २४ जना थाई नागरिकको मृत्यु भएको शनिबार जानकारी दिएका छन्। अन्य १६ जना घाइते भएको र १६ जना अपहरणमा परेको अनुमान गरिएको थाई विदेश मन्त्रालयले जनाएको छ।
थाइल्यान्डको सरकारी तथ्यांकअनुसार इजरायलमा लगभग ३० हजार थाई नागरिक छन्, जसमध्ये अधिकांश कृषि क्षेत्रमा कार्यरत छन्।
फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोन्नाले हमासको आक्रमणबाट १५ जना फ्रान्सेली नागरिकको मृत्यु भएको जानकारी दिइन्। यसअघि, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले चार बालबालिकासहित १७ जना बेपत्ता भएका जानकारी गराएका थिए।
तेल अविवस्थित नेपाली राजदूतावासका अनुसार किब्बुट्ज अलुमिममा १० जना नेपालीको मृत्यु भएको र आक्रमणको समयमा किब्बुट्जमा १७ जना नेपाली विद्यार्थीहरू रहेका थिए। एक जनालाई बन्धक बनाएर लगेको पुष्टि विद्यार्थीहरूले नै गरेका छन्।
उक्त आक्रमणमा सात अजेन्टिनी नागरिकको मृत्यु भएको थियो भने अन्य १५ जना सम्पर्कमा आएका छैनन्। उनीहरूलाई बन्धक बनाइएको हुनसक्ने विश्वास गरिएको छ। अर्जेन्टिनाको विदेश मन्त्रालयले सात जनाको मृत्यु भएको र अन्य १५ जना हराइरहेको पुष्टि गरेको छ।
युक्रेनको विदेश मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार आक्रमणमा मृत्यु हुनेको संख्या सात पुगेको छ भने अन्य नौ जना हराइरहेका छन् भने नौ जना घाइते भएका छन्।
तेल अविवस्थित रुसी दूतावासका अनुसार कम्तीमा चार जना रुसी–इजरायली नागरिकको मृत्यु भएको छ। उसले कुनै पनि बन्धकका बारेमा कुनै जानकारी नभएको तर छ जना रुसी नागरिक हराइरहेको बताएको छ।
यसैगरी बेलायतका दुई जना नागरिकको मृत्यु भएको परिवारले पुष्टि गरेका छन् भने लन्डनस्थित इजरायली दूतावासले बुधबार थप दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ। बीबीसीले बालबालिकासहित १७ जना बेलायतीको हताहत (मृत्यु भएको वा बेपत्ता) भएको जनाएको छ।
अन्य मृत्यु हुनेमा चिलीको एक महिला, तीन जना इजरायली–अस्ट्रियाली नागरिकको मृत्यु भएको, बेलारूस, क्यानडा, चीन, फिलिपिन्स र ब्राजिल हरेक देशबाट तीन तीन जनाको मृत्यु भएको सम्बन्धित देशका विदेश मन्त्रालय वा राजदूतावासले पुष्टि गरेका छन् भने ती देशका पनि केही नागरिक आक्रमणपछि कसैको सम्पर्कमा आउन सकेका छैनन्।
आक्रमणमा परी पेरुका दुई जना, रोमानियाका एक, दक्षिण अफ्रिकाको दुई अस्ट्रेलियाको दुई, अजरबैजान, कम्बोडिया,पोर्चुगल,आयरल्यान्ड, होन्डुरस, स्पेन, चिलीका एक एक व्यक्तिको मृत्यु भएको छ। आक्रमणमा परी ज्यान गुमाउनेमा श्रीलंका दुई, टर्कीका एक, कोलम्बियाका एक, मेक्सिकोका दुई,इटालीका तीन,पराग्वेका दुई र तान्जिानियाका दुई नागरिक रहेको पुष्टि भएको छ। यी मुलुकका पनि केही व्यक्ति आक्रमणपछि सम्पर्कमा आउन सकेका छैनन्। –रासस/एएफपी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
