तोक्पेगोलामा याकमार्फत आवश्यक सामग्री ढुवानी गरिन्छ। याकलाई ‘हिमाली ट्रक’ पनि भनिन्छ।
फुङ्लिङ– वरिपरि पहाड। पोखरी र झरना। बीचमा छ, तोक्पेगोलाबस्ती। जाति र ठाउँको नाम हो, तोक्पेगोला। मिक्वाखोला गाउँपालिका–५ मा रहेको यस सुन्दर बस्तीमा १७ परिवारको बसोबास छ।
उनीहरूलाई गाउँमा ढोक्प्या जाति भनिए पनि सीमान्तकृत समूहमा तोक्पेगोला भनी सूचीकृत गरिएको छ। तीन हजार ७०० मिटर उचाइको ठाउँमा झुरुप्प घर। काठले छाएको छानो। भोटे झ्याल। टाढाबाट देख्ने बित्तिकै लाग्छ कि यो ठाउँ उत्सव स्थल पो हो कि! घरैपिच्छे खम्बामा गाडिएका मन्त्रयुक्त ध्वजापताका फरफराउँदा थकित शरीरले शीतलता महसुस गर्छ। गुम्बा र मन्दिरले पौराणिक तथा ऐतिहासिक महत्त्व झल्काउँछ। हिमाली ठाउँ भएकाले आफैँमा सुन्दर त हुने नै भयो।
अग्लो चट्टान छिचोलेर बग्ने झरनाको काखको बस्तीबाट वरपरका भिर र चट्टानमा मानव तथा जनावरका आकृतिका देखिन्छन्। पूर्वपट्टिको अग्लो भिरबाट झर्ने झरनाको दृश्य साँच्चिकै लोभलाग्दो छ। झरनाबाट दूध रङको छङ्छङ झर्ने पानीको दृश्य र आवाजले जोकोहीलाई आनन्दित तुल्याउँछ। वरिपरिका चउरमा फुलेका रंगीचंगी फूलले सुनमा सुगन्ध थपिए झैँ बस्तीको सुन्दरता अझ बढाइदिएको छ।
महिनैपिच्छे रङ फेर्नु र छिनछिनमा मौसम बदलिरहनु तोकक्पेगोलाको बस्तीको विशेषता हो। कहिले पहेंलो फूलले पहेंलपुर बन्छ। कहिले निलो, रातो र हरियो फूलको सौन्दर्यले अचम्मित बनाउँछ। कहिले सबै फूल सुकेर मरुभूमि जस्तो देखिन्छ। बस्ती क्षेत्र सिजनमा हरियो घाँसे मैदानमा परिणत हुन्छ। एकै छिनमा डाँडाकाँडा र बस्ती बाक्लो कुहिरोले छोपी दिन्छ। कुनै दुलहीले लजाउँदै घुम्टो खोलेको जस्तै मौसम उघ्रिदिन्छ। गाउँमा दुःख बिराम नहोस्, अशान्ति नसहोस्, सधैँ सुख शान्ति होस् भनेर प्रत्येक वर्ष लामा बोलाएर पूजापाठ गर्ने गरेको मिक्वाखोला –५ पापुङका वडाध्यक्ष ग्याञ्जे शेर्पाले बताए।
भोटे भाषामा ‘लू’ भनिने रहेछ। प्रत्येक घरले पालोपालो गरेर प्रत्येक वर्ष ‘लू’ खेदाउने गरेको उनले बताए। शेर्पाका अनुसार तीन दिनसम्म लामाले मन्त्र जप गरेर अन्तिम दिनरात परेपछि गाउँका सबै भएर थाल बजाउँदै लू अर्थात् भूत खेदाउने गर्छन्। बस्तीमा आउँने बाटो सबैमा मन्त्र जपेको विभिन्न मूर्तिहरूले बाटो बन्द गर्छन्। लू देखाउने समयमा बस्तीमा अन्य मान्छे आवतजावत गर्नु हुँदैन भन्ने जनविश्वास छ। लू खेदाउने समयमा बस्तीमा मान्छे आवतजावत गरियो भने बिरामी र मृत्युसमेत हुनसक्ने जनविश्वास रहेको स्थानीय पासाङ फुटी शेर्पाले बताइन्।
यहाँ पुग्न बर्खामा घामपानीको लुकामारी छिचोल्नै पर्छ। हिउँदमा कठ्याग्रिँदो जाडो। तर, पुगेपछि गलेर शिथिल बनेको शरीरमा फुर्ती बढ्छ। तोक्पेगोला क्षेत्रमा दर्जनौँ तालतलैया रहेका छन्। सोदो पोखरी, भूत पोखरी, तीन पोखरी, थाङ्ला पोखरी, साजु पोखरी र पाथीभरा पोखरीलगायत घुम्न सकिन्छ। डाँडाकाँडा, पाखा, पखेरा, छाँगा, वन जंगल, जडीबुटीले यो क्षेत्र सजिएको छ। बस्तीदेखि ३०० मिटर दूरीमा छ, सोदोपोखरी। नागपञ्चमीका दिन पूजा हुन्छ। यहाँ आउन चाहनेको एउटै लक्ष्य हुन्छ, तोक्पेगोला र सोदोपोखरी अवलोकन गर्ने। स्थानीय मिलन दोर्जे शेर्पाका अनुसार यहाँका बासिन्दाको मुख्य पेसा पशुपालन हो।
गाई, याक तथा चौँरी पालेर जीवनयापन चल्छ। बिहान छाड्दा र गोधुली साँझमा फर्कंदा याक तथा चौँरीको घाँटीमा झुन्ड्याइएको घण्टीको कुन्डुङकुन्डुङ आवाजले मन प्रफुल्ल बन्छ। चीनको तिब्बतसँग सीमा जोडिएको छ यो ठाउँ। तिब्बतको रिउ बजार पुग्न दुई दिन पैदल हिँड्नुपर्छ। चामलबाहेक दैनिक उपभोग्य सामग्री तिब्बतबाट ल्याउने गरेको थियो तर चार वर्षदेखि नाकाबन्दी भएको छ। नाका नखुल्दा व्यापार व्यवसाय ठप्प भएको स्थानीय तेन्जिङ शेर्पाले बताए।
यस क्षेत्रमा आवश्यक सामग्री याकमार्फत ढुवानी गर्छन्। याकलाई ‘हिमाली ट्रक’ पनि भनिन्छ। तोक्पेगोलामा आठ महिनामात्र मान्छे बस्छन्। जाडो र हिउँ छल्न घरपालुवा जनावरसँगै पापुङमा झर्छन्। प्रायः सबैको पापुङमा घर छ। कात्तिकदेखि माघसम्म हिउँ पर्ने र जाडो अधिक हुने भएकाले बस्ती अर्थात् बेँसी झर्छन्। तोक्पेगोला क्षेत्रमा जडीबुटी पनि आम्दानीको स्रोत हो।
कसरी पुगिन्छ?
सदरमुकाम फुङलिङदेखि गाडीमा दोभान–नाल्बु–पापुङसम्म गाडी चल्छ। अर्को दिन हिँडेर तोक्पेगोला पुगिन्छ। कच्ची सडक भएकाले गाडीमा घल्च्याकघुल्चुक सहनुपर्छ। सदरमुकामदेखि हिँडेर हान्द्रुङ–खोक्लिङ–लिवाङ–साँवा हुँदै गाडी पुग्ने ठाउँ पापुङ पुगिन्छ। सदरमुकामदेखि गाडी वा हिँडेर जसरी गए पनि तोक्पेगोला पुग्न दुई दिन लाग्छ।
दर्जन बढी झोलुंगे र काठे पुल तर्नुपर्छ। पापुङ बस्ती छाडेपछि तोक्पेगोला नपुगेसम्म बस्ती छैन। ठाउँठाउँमा भेटिएका गाईगोठ नै होटल हो। पर्यटकको चहलपहल हुन थालेसँगै तोक्पेगोलामा भने होटल तथा घरबास होमस्टे खुल्नेक्रम शुरू भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
