'बाइक टुर'मार्फत नेपालको पर्यटनलाई थप प्रवर्द्धन गर्न सकिन्छ: सीईओ रेग्मी

अन्तर्राष्ट्रिय बाइक राइडर्सलाई पनि बोलाएर सम्मेलन गर्दै थप बाइक टुरमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्न बोर्ड प्रतिबद्ध भएको बोर्डका सीईयो रेग्मीले बताए।

काठमाडौँ– पर्यटन बाेर्डका कार्यकारी अधिकृत(सीईओ) धनञ्जय रेग्मीले 'बाइक टुर'मार्फत नेपालको पर्यटनलाई थप प्रवर्द्धन गर्न सकिने बताएका छन्। ४४ औँ अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा गरिएको ‘गोल्डेन ट्र्यांगल बाइक टुर’को समापन कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन्।

शनिबार नेपाल पर्यटन बोर्डको सभाहल भृकुटीमण्डपमा कार्यक्रम गरेर असोज १० गतेदेखि १६ गतेसम्म ४ प्रदेश, १७ जिल्ला, एक हजार किलोमिटर यात्रा गरेका राइडर्सलाई प्रमाणपत्र दिएर ‘गोल्डेन ट्र्यांगल बाइक टुर’को समापन गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथीसमेत रहेका बोर्डका सीईओ डा. रेग्मीले नेपालमा अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा गरिएको यो गोल्डेन ट्र्यांगल बाइक टुर कार्यक्रमले साँच्चिकै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। 

टुरको डकुमेन्ट्री हेरेपछि बोर्डका सीईओ डा.रेग्मीले भने, "अब अन्तर्राष्ट्रिय बाइक राइडर्सलाई पनि बोलाएर सम्मेलन गर्दै थप बाइक टुरमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्न बोर्ड प्रतिबद्ध छ।"

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, पर्यटन समितिका उपसभापति तथा टुरका प्रमुख सल्लाहकार अच्युत गुरागाईंले ताप्लेजुङ–दार्चुला बाइक टुरपछि ‘गोल्डेन ट्रयांगल बाइक टुर’ सम्पन्न गर्नुले नेपालमा बाइक टुरिङ संस्कृति बढ्दै गएकोमा खुशी व्यक्त गरे। कोभिड महामारी र आर्थिक मन्दीपछि सुस्त देखिएको पर्यटन क्षेत्रलाई थोरै भए पनि गतिशील बनाउन बाइक टुर अभियान चलाएकोमा पनि युवा पत्रकार, कलाकार, भ्लगर्स तथा राइडर टिमलाई उनले धन्यवाद व्यक्त गरे।

गोल्डेन ट्र्यांगल बाइक टुरका संयोजक तथा आयोजक एनटीपी मल्टिमिडिया ग्रुपका अध्यक्ष विष्णु विवेकले पर्सा राष्ट्रिय निकुञ्ज, भरतपुर र रानीमहल तथा बेगनासताललाई केन्द्रविन्दुमा राखेर ‘एक्सप्लोर’ गर्दै बाइक टुर सफल भएको बताए। यस्तै, अर्का आयोजक एक्सपल्स राइडर्स नेपाल, क्लबका अध्यक्ष कुन्दन श्रेष्ठले नेपालमा 'बाइक टुर कल्चर' बढ्दै गएकोमा यो टुरले झन् महत्त्वर्ण भूमिका खेलेको बताए। आगामी दिनमा अन्तर्राष्ट्रिय राइडर्सलाई पनि नेपाल ल्याएर नेपालको पर्यटन प्रवर्द्धन गर्न हौसला मिलेको पनि उनको भनाइ थियाे।

कार्यक्रममा 'नेपाल एसाेसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट' (नाट्टा) मधेश प्रदेशका अध्यक्ष मोहन शर्माले गोल्डेन ट्र्यांगल बाइक टुरमार्फत पर्सा राष्ट्रिय निकुञ्जको प्रचार गरिएकोमा खुशी व्यक्त गरे। वर्षौंदेखि पर्सा निकुञ्जको प्रवर्द्धन गर्ने योजना भए पनि अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा पत्रकार, कलाकार, भ्लगर र राइडर्समार्फत भव्य रूपमा स्वागत गर्दै 'एक्सप्लोर' गर्न पाइएकोमा राइडर्ससँगै पर्यटन बोर्ड, नाट्टा र सरोकारवालालाई उनले धन्यवाद व्यक्त गर ।