सर्लाहीका उखु किसानले पाएनन् अनुदानबापतको २९ करोड

उखु बेचेको सात महिना हुँदासमेत सरकारले अनुदान उपलब्ध गराएको छैन। दशैँको मुखमा पनि अनुदान नपाउँदा किसान निराश भएका छन्। 

फाइल तस्वीर

सर्लाही– सर्लाहीका उखु उत्पादन किसानले पाउनुपर्ने २९ करोड रुपैयाँभन्दा बढी अनुदानबापतको रकम नपाएको गुनासो गरेका छन्। उखु बेचेको सात महिना हुँदासमेत अनुदान पाउन नसकेको किसानले बताएका छन्। 

जिल्लामा सञ्चालनमा रहेका तीनवटा चिनी उद्योगलाई उखु बेचेका किसानले सरकारले उपलब्ध गराउनुपर्ने अनुदानबापत २९ करोड २५ लाख ५२ हजार रुपैयाँ नपाएको नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए। 

उनका अनुसार दशैँको मुखमा पनि अनुदान रकम नपाउँदा किसान निराश भएका छन्। उखु उत्पादक किसानमा दशैँ कसरी मनाउने भन्ने चिन्ता बढेको अध्यक्ष मैनालीले बताए। इन्दुशंकर चिनी उद्योग हरिवन, महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौललाई आर्थिक वर्ष २०७९/८० मा १८ हजार २८६ किसानले ४१ लाख ७९ हजार ३२४ क्विन्टल उखु बिक्री गरेका थिए। त्यसमध्ये राज्यले दिनुपर्ने अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदासमेत नपाएको बागमती नगरपालिका–४ का किसान केदारनाथ प्रसाईँले गुनासो गरे। 

अहिलेसम्म अर्थ मन्त्रालयबाट उखुको अनुदान रकम प्राप्त नभएको कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक पुरुषोत्तम बरालले बताए। उनका अनुसार कार्यालयलाई रकम प्राप्त भएर दुई साता आन्तरिक तयारी गरेपछि किसानको खातामा रकम पठाइने छ।

सरकारले आव २०७९/८० मा उखुको मूल्य प्रतिक्विन्टल ६१० रुपैयाँ निर्धारण गरेको थियो। त्यसमध्ये चिनी उद्योगले प्रतिक्विन्टल ५४० भुक्तानी गर्ने र बाँकी प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले अनुदानबापत उपलब्ध गराउने सहमति भएको मैनालीको भनाइ छ। 

आफूहरूले पटक–पटक अर्थ मन्त्रालयमा नै पुगेर ताकेता गर्दा पनि सरकारले जिल्लामा अनुदान रकम पठाउन आलटाल गर्दै आएको किसानले बताएका छन्। गत वर्ष पनि दशैँको मुखमा निकासा भएको थियो।