अफगानिस्तानमा पुनः ६.३ म्याग्निच्यूडको भूकम्प

अफगानिस्तानमा एक हप्ताबीचमा तीन शक्तिशाली भूकम्प भएका छन्। जसमा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।

तस्वीर: एपी

अफगानिस्तानको पश्चिमी क्षेत्रमा आइतबार ६.३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ।

हेरात शहरभन्दा ३३ किलोमिटर टाढा उक्त भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ। दिउँसो १ बजेसम्म कुनै हताहतको खबर प्राप्त भएको छैन।

यसअघि असोज २० गते हेरातको सोही भागमा ६.३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प र आठ वटा परकम्प गएको थियो। उक्त भूकम्पले घरहरू ध्वस्त पारेको थियो। एक हजारभन्दा बढीको मृत्यु र सयौँ घाइते भएका थिए।

हजारौँ भयभीत बासिन्दा बिना आश्रय रहन बाध्य भएको र स्वयंसेवकले बाँचेकाहरूको खोजी गरिरहेका छन्। 

युनिसेफका अनुसार भूकम्पमा परी मर्नेहरूमा ९० प्रतिशतभन्दा बढी महिला र बालबालिका छन्। भूकम्पबाट १२ हजारभन्दा बढी नागरिक प्रभावित भएका छन्। 

सन् २०२१ मा अफगानिस्तानको सत्तामा आएको तालिबान अधिकारीका लागि ठूलो मात्रामा आश्रयको व्यवस्था गर्न चुनौती हुने छ। तालिबानको अन्तर्राष्ट्रिय दातृ संस्थासँग सम्बन्ध खराब छ।