माटोमा बढ्दै अम्लीयपन, घट्दै उर्वराशक्ति

बढी उत्पादन पाउने उद्देश्यले रासायनिक मलको अत्यधिक प्रयोग गरिनु, प्राङ्गारिक मलको प्रयोग न्यून मात्रामा हुनु जस्ता कारणले माटोको उर्वराशक्ति घटिरहेको विज्ञहरूले बताएका छन्।

विराटनगर– कृषिजन्य उत्पादनका लागि अग्रणी रहँदै आएको कोशी प्रदेशमा पछिल्लो समय माटोको उर्वराशक्ति घट्दा उत्पादन प्रभावित बनेको छ। १४ वटा जिल्ला समेटिएर हिमाली, पहाडी र तराई क्षेत्र गरी मिश्रित भू–बनोट र हावापानी रहेको कोशी प्रदेशमा पछिल्लो समय उत्पादन प्रभावित भएको हो।

बढी उत्पादन पाउने उद्देश्यले रासायनिक मलको अत्यधिक प्रयोग गरिनु, प्राङ्गारिक मलको प्रयोग न्यून मात्रामा हुनु जस्ता कारणले माटोको उर्वराशक्ति घटिरहेको विज्ञहरूले बताएका छन्।

कोशी प्रदेशका विभिन्न जिल्लामा गरिएको अध्ययनका क्रममा करिब ७० प्रतिशत खेतीयोग्य जमिनमा अम्लीयपन अर्थात् एसिडको मात्रा बढेको पाइएको छ। सुनसरीको झुम्कास्थित क्षेत्रीय माटो तथा मल परीक्षण प्रयोगशालाले गरेको अध्ययनका क्रममा माटोमा अम्लीयपन बढ्दा उर्वरा शक्तिमा ह्रास आएको पाइएको हो।

प्रयोगशालाले विभिन्न जिल्लाबाट सङ्कलित माटोलाई विशेष विधिबाट परीक्षण गरी त्यसको गुणस्तर पत्ता लगाउने गरेको छ। यसैगरी, समय–समयमा घुम्ती शिविरमार्फत किसानको खेतबारीमै पुगेर माटो र मल परीक्षण गर्ने गरिएको छ।

अधिक मात्रामा उत्पादन बढाउने लोभमा किसानहरूले खेतबारीमा रासायनिक मल र विषादीको आवश्यकताभन्दा बढी प्रयोग गर्ने गरेकाले माटोको उर्वरा शक्ति घट्न थालेको विज्ञहरूको भनाइ छ ।

हरेक वर्ष तरकारी बालीको उत्पादन घटिरहेको अनुभव किसानले पनि गरिरहेका छन्। मल हाल्दा पनि उत्पादन उति धेरै नबढेको बताउने सुनसरीका किसान शान्ति बिनले माटोमा समस्या भएर खेती प्रभावित भएको सुने पनि खास कारण के हो भन्ने आफूहरूलाई थाहा नभएको बताइन्।

 रासायनिक मलले माटोको उर्वरा शक्ति कायम राख्ने मित्रजीव र सूक्ष्म कीरा मर्छन्। यसले गर्दा पनि खेती प्रभावित बनिरहेको हो। तराईका अधिकांश ठाउँमा पराल, भुस, गहुँका बोटलाई खेतबारीमा जलाउने गर्दा पनि माटोको उर्वरा शक्ति नष्ट भइरहेको प्रयोगशालाका प्राविधिकहरूले जनाएका छन्।

उत्पादन बढाउने ध्याउन्नमा किसानले आवश्यक मात्राभन्दा बढी रासायनिक मल प्रयोग गर्ने गरेका छन्। परिवारका लागि मात्र थोरै परिमाणमा तरकार उब्जाउने हो भने रासायनिक मल नहाले पनि हुने तर व्यावसायिक रूपमा तरकारी र अरू कृषि उपज उत्पादन गर्न रासायनिक मल हाल्नुको विकल्प नरहेको अर्का किसान मनोज बिनको भनाइ छ।

रासायनिक मल आवश्यकताभन्दा बढी प्रयोग नगर्ने अनि कृषि चुनको प्रयोग बढाउने हो भने उर्वराशक्ति बढेर बाली पनि बढी उत्पादन हुने विज्ञहरूले बताएका छन्।

किसानले एकपछि अर्को बाली, अर्को पछि अर्को बाली गरे निरन्तर खेती गर्ने गरेको र माटोमा बढी मात्रामा रासायनिक मल प्रयोग गर्ने गरेकाले उर्वराशक्तिमा ह्रास आएको माटोविज्ञ राजेन्द्रप्रसाद यादव बताउँछन् ।

 उत्पादन बढाउनका लागि माटोको अम्लीयपन घटाउन घरेलु विधिमा आधारित प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्ने सुझाव विज्ञहरूको छ। झापा, मोरङ र सुनसरी उल्लेख्य परिमाणमा अन्न उत्पादनका लागि देशमै अग्रणी मानिन्छन्। तर यिनै जिल्लामा रहेका खेतीयोग्य जमिन अम्लीय बन्दै गएको प्रयोगशालाले जनाएको छ।

अन्नबाली, तरकारी र फलफूल जस्ता सबैजसो बालीको उत्पादन यही कारणले घटिरहेको छ। लगाइएका तरकारी र फलफूल पनि राम्ररी नसप्रने, कीरा लाग्ने जस्ता समस्या बढिरहेको छ।

अलि बढी परिणाममा अम्लीयपन भएको माटोमा आलु, चिया, अलैँची र अम्लिसो जस्ता खेती हुन सक्ने भए पनि अन्न, तरकारी र फलफूल खेतीमा भने यसको नकारात्मक असर पर्ने जनाइएको छ।

माटोमा अम्लीयपन बढ्दै जानु र बाली–बिरुवालाई नभई नहुने नाइट्रोजन, फस्फोरस नामक तत्त्वको मात्रा घट्दै गएकाले उर्वरा शक्तिमा पनि बर्सेनि कमी आइरहेको छ।

त्यसो त मुलुकभरकै माटोको उर्वरा शक्ति पनि ह्रास भइरहेको तथ्यांक छ। कृषि विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार माटोको उर्वरा शक्तिमा निरन्तर क्षयीकरण हुँदा कृषि प्रणालीमा गम्भीर संकट आउने जनाइएको छ।

किसानले उत्पादन वृद्धि गर्न खेतबारीमा रासायनिक मलको मात्रा बढाइरहँदा माटोको गुणस्तरमा निरन्तर ह्रास आइरहनु चिन्ताको विषय भएको सरोकारवालाको भनाइ छ।