गठबन्धनलाई उल्टाउने कोशिश भइरहेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनलाई कमजोर पार्ने र उल्टाउने कोशिश भइरहेको टिप्पणी गरेका छन्। 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनलाई कमजोर पार्ने र उल्टाउने कोशिश भइरहेको टिप्पणी गरेका छन्। 

आइतबार भरतपुर महानगरपालिका–३ मा आयोजित कार्यक्रममा उनले कहिल्यै सरकारमा फर्किन नपाइने चिन्ताले गठबन्धनलाई कमजोर पार्ने र उल्टाउने कोशिश भइरहेको बताएका हुन्। सरकारले बनाएको मजबुत विदेशी सम्बन्धले नेपाललाई राजनीति स्थायित्व दिने र अब त्यसो भयो सरकारमा फर्किन सकिन्न भन्ने त्रासले गठबन्धनलाई कमजोर पार्ने प्रयास भएको उनको तर्क छ।

“एकथरि मानिस छटपटिएका छन्। उनीहरूलाई के गरी गठबन्धन कमजोर पार्ने? कसरी उल्टाउने? यो गठबन्धनले यसरी नै सुशासन, सामाजिक न्यायको समृद्धिको र देशको राष्ट्रिय स्वाधीनतालाई अझ बलियो बनाउने र भारत, अमेरिका र चीनसँगको सम्बन्धलाई मजबुत  बनाउने नेपाललाई राजनीति स्थायित्व र विकासको नयाँ गति दिने प्रक्रिया पनि हो,” उनले भने, “यसबाट अब फेरि कहिल्यै सरकारमा फर्किन पाइँदैन कि भनेर एकथरि चिन्तित छन्।”

उनले कोशी प्रदेशमा गठबन्धनले राम्रो गरेको देख्न नसकेर विभाजन ल्याउने खेल थालिएको आरोप लगाए। कांग्रेस सभापति देउवा र शेखर कोइरालाबीचको समझदारीले त्यो खेल अन्त्य गरिदिएको उनको भनाइ छ।

सत्तागठबन्धनले माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि कांग्रेसबाट विद्रोह गर्दै केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। शनिबार प्रदेश प्रमुख परशुराम खापुङले बहुमत प्रदेशसभा सदस्यको सनाखत गराएर कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। त्यसलगत्तै कांग्रेस सभापति देउवा, नेता कोइराला र प्रधानमन्त्री दाहालबीच सत्ता गठबन्धनलाई बचाइराख्ने गरी भएको समझदारी बाहिरिएको थियो। 

सोबारेमा एमालेप्रति लक्षित गर्दै प्रधानमन्त्री दाहालले खेल खेल्न खोजेको टिप्पणी गरेका हुन्। “कोशी प्रदेशमा गठबन्धनले राम्रो गरेको देख्न नसकेर एकथरि मानिस खेल खेल्न सकिन्छ कि भनेर कुनै तरिकाले विभाजन ल्याउन सकिन्छ कि भनेर योजनाअन्तर्गत काम गरे,” उनले भने, “तर शेरबहादुर देउवा र शेखर कोइरालाबीच समझदारी गरेर त्यो खेल अन्त्य गरिएको छ।”  

उनले आपसी समझदारीसँगै यो गठबन्धनले पूर्ण कार्यकाल यही गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले आफ्नो विदेश भ्रमणमा भएका समझदारी र सहमतिले नेपालको प्रतिष्ठा, राष्ट्रिय स्वाधीनता  र असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिलाई नयाँ उचाइमा उठाएको विश्वास व्यक्त गरे।