गाजाबासीको लागि पानी ‘जीवन–मरण’को सवाल

इजरायली सेनाको निरन्तरको आक्रमणमा पानीका प्लान्ट तथा पाइपहरूमा क्षति पुग्दा प्यालेस्टायनको गाजा क्षेत्रमा खानेपानीको हाहाकार भइरहेको छ।

इजरायल–हमासबीचको युद्धका कारण प्यालेस्टायनकाे गाजा क्षेत्रमा पानीको समस्या बढीरहेको छ। 

इजरायली सेनाको निरन्तरको आक्रमणमा पानीका प्लान्ट तथा पाइपहरूमा क्षति पुग्दा प्यालेस्टायनको गाजा क्षेत्रमा खानेपानीको हाहाकार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम अलजजिराले जनाएको छ।

अहिले त्यहाँ मानिसहरू पानी भर्नको लागि धारामा घण्टाैसम्म लाइन लाग्नुपर्ने अवस्था छ। संयुक्त राष्ट्रसंघअन्तर्गत शरणार्थी एजेन्सीका अनुसार पानी अभावका कारण गाजा क्षेत्रमा २० लाख मानिस जोखिममा छन्। 

इजरायली सेनाको बम आक्रमणमा परी अधिकांश खानेपानीका प्लान्ट ध्वस्त भएका छन्। जसले गर्दा अहिले गाजाबासी इनारको फोहोर पानी पिउन बाध्य भएका अलजजिराले जनाएको छ। यस्तै गएको बुधबारदेखि इजरायलले गाजा क्षेत्रको विद्युत् काटिदिँदा बाँकी रहेका पानीका प्लान्ट पनि बन्द भएका छन्। 

राष्ट्रसंघको राहत तथा कार्य एजेन्सीका उप–आयुक्त फिलिप लजारिनी भन्छन्, "अहिले पानी अभावका कारण जीवन–मरणको अवस्था बन्दै गएको छ। गाजा क्षेत्रमा पानी आपूर्तिका लागि इन्धनको आवश्यकता छ।"

पानी अभावको असर महिला र बालबालिकामा बढी देखिएको उनको भनाइ छ। उनले पानीको अभाव कायमै रहे यसले जटिल स्वास्थ्य समस्या निम्त्याउने बताएका छन्। 

गाजामा एक हप्तादेखि कुनै पनि प्रकारका राहत तथा खाद्य सामग्रीको आपूर्ति पनि रोकिएको छ। अहिले गाजाबासी भाेकमरीकाे समस्या पनि झेलिरहेका छन्। यहीबीच इजरायली सेनाले गाजाको उत्तरी क्षेत्रमा रहेका ११ लाख नागरिकलाई त्याे क्षेत्र छाड्न भनेको छ। अहिले गाजाको उत्तरी भेगबाट लाखाैँ प्यालेस्टिनीहरू दक्षिणी भागमा गइरहेका छन्। 

अक्टाेबर ७ देखि चलिरहेकाे इजरायल र प्यालेस्टनि विद्राेही समूह हमासबीचकाे युद्धका कारण गाजा क्षेत्रमा अहिलेसम्म तीन हजार ३०० भन्दा धेरैले ज्यान गुमाइसकेका छन् भने ९ हजार भन्दा धेरै घाइते भएका छन्। यस्तै इजरायलतर्फ एक हजार ३०० जनाले ज्यान गुमाएका छन् भने तीन हजार जति मानिस घाइते भएका अल जजिराले जनाएकाे छ।