कोशीमा मध्यावधि निर्वाचनको चिन्ता सकियो: मुख्यमन्त्री

कोशी प्रदेशका मुख्यमन्त्री केदार काकीले आफ्नो नेतृत्वमा सरकार गठनपछि प्रदेशको राजनीतिक संकट समाधान भएको दाबी गरे।

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री केदार काकीले प्रदेशमा नयाँ सरकार बनेपछि मध्यावधि निर्वाचन हुन्छ कि भन्ने चिन्ता सकिएको बताएका छन्। मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।

उनले तत्कालका लागि तीन सदस्यीय मन्त्रिपरिषद् बनेको भन्दै आगामी दिनमा सहमतीय सरकार बन्ने बताए। उनले आफ्नो नेतृत्वमा सरकार गठनपछि कोशी प्रदेशको राजनीतिक संकट समाधान भएको दाबी गरे। “प्रदेशसभा विघटन हुन्छ कि मध्यावधि हुन्छ कि भन्ने चिन्ता थियो, तर अब यी सबै चिन्ता सकिएको छ,” उनले भने।

प्रदेशमा देखिएका सामाजिक, सांस्कृतिक विषय वार्ताद्वारा समस्या समाधान गर्ने प्रतिबद्धता मुख्यमन्त्री कार्कीले जनाए। कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आइतबार दुई जना मन्त्रीलाई नियुक्त गरेका छन्। कांग्रेसका ‘विद्रोही’ समूहमा रहेका शमशेर राई र एमालेका रामबहादुर मगर मन्त्री नियुक्त भएका हुन्।