स्थलगत हमला गर्न गाजा क्षेत्रनजिक पुगे इजरायली सेनाका ट्यांक

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा क्षेत्रमा हमलाकाे तयारी गरिरहेका आफ्ना सेनाहरूलाई भेटेका छन्। उनले आगामी दिनका लागि सेनाकाे तयारीबारे बुझेकाे बताइएकाे छ।

गाजा क्षेत्रमा आक्रमण गर्न इजरायली सेना पूरै तयारी अवस्थामा बसेकाे छ। त्यसका लागि इजरायली सेनाका सयाैँ ट्यांक गाजा क्षेत्रनजिक पुगेका छन्।

शुक्रबार २४ घण्टाको समय दिँदै इजरायली सेनाले गाजाको उत्तरीक्षेत्र खाली गर्न भनेको थियो। अहिलेसम्म लाखौँ प्यालेस्टिनी गाजाको उत्तरी क्षेत्रबाट दक्षिणी क्षेत्रमा गइसकेका छन्। सुरक्षाकाे खाेजी गर्दै आफ्नाे स्थान छाडेर प्यालेस्टिनीहरू बाहिरिने क्रम जारी नै छ। तर प्यालेस्टिनी विद्रोही समूह हमासले प्यालेस्टिनीलाई आफ्नो क्षेत्र छाडेर कतै नजान भनिरहेको छ।

योसँगै इजरायलले उत्तरी क्षेत्रमा स्थलगत हमलाको लागि ट्यांक तयार पारेर राखेको बताइएको हो। इजरायल अहिले गाजा क्षेत्रमा जमिन, आकाश तथा सामुद्रिक हमलाका लागि तयार छ, तर हमला कतिबेला गर्ने हो भन्नेबारे बताइएको छैन।

बीबीसीका अनुसार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा क्षेत्रमा हमलाकाे तयारी गरिरहेका आफ्ना सेनाहरूलाई भेटेका छन्। उनले आगामी दिनका लागि सेनाकाे तयारीबारे बुझेकाे बताइएकाे छ।

गएकाे अक्टाेबर ७ मा हमासले इजरायलमा आक्रमण गरेदेखि अहिलेसम्म गाजा क्षेत्रमा दुई हजार ३८२ प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन्। यस्तै इजरायलतर्फ एक हजार ३०० ले ज्यान गुमाएका अल जजिराले जनाएकाे छ।