सुदूर–पश्चिम तथा कर्णाली प्रदेशमा वर्षाको सम्भावना

सुदूर–पश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

काठमाडाैँ– नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर–पश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागको आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूर–पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूर–पश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, राति सुदूर–पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूर–पश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका ‍एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

नेपालबाट यस वर्षको मनसुन आइतबारदेखि बाहिरिसकेको छ। नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टाेबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।