सर्वसाधरणले हवाई टिकट पाउन कि त ठूला नेतालाई भन्नुपर्छ कि त बिचौलियालाई। सामान्य ढंगले आफैँ टिकट लिन्छु भन्ने हो भने महिनौँसम्म पनि टिकट पाउन नसकिने अवस्था त्यस क्षेत्रको छ।
नेपालगन्ज– सडक सञ्जाल नपुगेका सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रका सर्वसाधरणलाई हवाई टिकट पाउन सधैँ मुस्किल हुने गरेको छ।
मौसमको प्रतिकूलता र एयरलाइन्सहरूको सीमित उडान भएकाले हवाई टिकटमा ठूलाबडाको मात्रै वर्चस्व हुने गरेको देखिन्छ। नेपाल वायुसेवा निगमका उडानहरू अत्यन्तै न्यून हुनु, निजी एयरलाइन्सहरूले पनि नियमित उडानलाई भन्दा चार्टर उडानलाई प्राथमिकतामा राखेका कारण नियमित हवाई उडानमा सर्वसाधरणलाई टिकट पाउन मुस्किल हुने गरेको हो। नेपालगन्जबाट हिमाली क्षेत्रमा उडानका लागि सर्वसाधरणले हवाई टिकट पाउन कि त ठूला नेतालाई भन्नुपर्छ कि त बिचौलियालाई। सामान्य ढंगले आफैँ टिकट लिन्छु भन्ने हो भने महिनौँसम्म पनि टिकट पाउन नसकिने अवस्था त्यस क्षेत्रको छ।
सुत्केरी गराउन नेपालगन्ज आएकी लुम्बिनी प्रदेश पूर्वीरुकुमकी टीका शाहले घर फर्कनका लागि जहाजको टिकट पर्खिरहेकी छन्। नेपालगन्ज आउने समयमा पनि जहाजको टिकट सहज पाइएको थिएन। रुकुमपूर्व सिस्ने गाउँकी टिका जिल्लामा सुविधासम्पन्न अस्पताल नभएपछि सुत्केरी सेवा लिन नेपालगन्ज आएकी थिइन्। १८ दिनकी सुत्केरी टिकासँग जहाजको टिकट छैन। पाइन्छ कि भन्ने आशामा विमानस्थलमा बच्चा लिएर यताउता गरिरहेकी छन्।
उनी भन्छिन्– “फ्लाइट पाउन पनि गाह्रो छ। पाइँदैन। उतै अपरेसन भए पनि ब्लड पाइँदैन। आईसीयू छैन। सेवा सुविधा केही पनि छैन। सके पनि नसके पनि यहीँ(नेपालगन्ज) आउनैपर्ने बाध्यता छ। अब यहाँ यत्तिका समय भइसक्यो फ्लाइट नै पाइँदैन।"
पूर्वीरुकुम पुथा उत्तर गंगा गाउँपालिका वडा नम्बर ८ की निशा सेन बोहरा पनि सुत्केरी गराउन नेपालगन्ज आइन्। जुम्ल्याहा नानीहरूकी आमा निशाको पनि जहाजको टिकट नपाउँदा घर फर्कने टुंगो छैन। एक महिना भइसक्यो नेपालगन्ज होटलमा बसेको अझै कति दिन बस्नुपर्ने हो भन्ने पिरलो उनमा पनि देखिन्छ।
निशाले भन्छिन्– "म डेलिभरीको लागि यहाँसम्म आएको हो। पूर्वी रुकुमदेखि पश्चिम पठाइदियो। दुई बच्चा छन्। नेपालगन्ज जानुपर्छ भनेका कारणले यहाँसम्म आएको। यहाँ आएपछि अप्रेसन भयो। ४ दिन हस्पिटल बसेको हो। अनि होटलमा एक महिना बस्यौँ। अब घर जान लागेको। जहाजको टिकट मिल्दैन भन्नुभएको छ।"
कर्णाली प्रदेश हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ का विष्णुबहादुर शाही नेपाल वायुसेवा निगमका कम उडान र भएका उडान पनि समयमा नहुने भएकाले समस्या भएको बताउँछन्। कसैलाई भनसुन नगरि हवाई उडानको टिकट पाउन नसकिने अनुभव उनको छ।
शाही भन्छन्– "नेपाल वायुसेवा निगमले रेगुलर उडान गर्ने हो भने पनि निजी एयरलाइन्सको भर पर्नुपर्ने थिएन। नेपाल वायु सेवा निगमलाई सिस्टममा ल्याउन सकिएको छ। मुख्य समस्या यही हो। प्राइभेट भनेको त पैसा कमाउनका लागि नै बनेका संस्था हुन्। मुख्य कुरा टिकट नै पाइँदैन। सामान्य मान्छे गएर टिकट पाउने सम्भावना छैन। च्यानलमा जानुपर्छ। नेताको ज्याक लिएर जानुपर्छ। टिकट पाउन बहुत गारो छ। विमानस्थल छिर्दै गर्दा हातमा टिकट लिएर आउन पाउने अवस्था कहिले आउला?"
विदेशी टोली आउँदा दिनमा ५ वटासम्म चार्टर गर्ने निजी एयरलाइन्सहरूले ती उडानमा स्थानीयका लागि एउटा पनि सिट राख्दैनन्। कार्गो उडान गर्ने, विदेशी ओसार्ने तर आफूहरू बिरामी हुँदा पनि उडानको टिकट नपाएर उपचार अभावमा ज्यान गुमाउनुपर्ने भन्दै स्थानीयहरू हवाई उडान सेवाप्रति नै आक्रोशित बन्दै गएका छन्।
नेपाल वायुसेवा निगमले सातामा निकै कम उडान भर्ने र नियमित उडानको समयमा पनि उडान नगरि स्थगित गर्ने भएकाले पनि समस्या भएको धेरैको गुनासो छ। निगमको जहाजको उडान धेरैजसो स्थगित भइरहँदा निजी एयरलाइन्ससँग मिलेमतो भएको हो कि भन्ने शंका पनि स्थानीयको छ। निजी एयरलाइन्सहरूले पनि नियमित उडान स्थगित गरेर चार्टर उडान गर्ने गर्दा बल्ल बल्ल टिकट पाएका सर्वसाधरण चर्को भाडा तिर्न बाध्य हुने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
