सर्वोच्च अदालतले दशैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्ने

शनिबार र विजया दशमीको दिनबाहेक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ।

काठमाडौँ– यो दशैँ बिदामा पनि केही निश्चित सेवाका लागि सर्वोच्च अदालत खुला रहने भएको छ। 

बन्दी प्रत्यक्षीकरणका लागि शनिबार र विजया दशमीको दिनबाहेक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ। बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गर्नका लागि कर्मचारीहरू बिहान १० बजे नै उपस्थित हुनेछन्। 

सर्वोच्च अदालतले असोज २९ गतेदेखि कात्तिक १० गतेसम्म सर्वोच्च अदालतमा उपस्थित हुने न्यायाधीशहरूको सूचीसमेत तयार गरेको छ। जसअनुसार असोज २९ गते न्यायाधीश सपना प्रधान मल्लले बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्नेछिन्।
त्यसैगरी असोज ३० गते न्यायाधीश डा.आनन्दमोहन भट्टराईलाई जिम्मेवारी तोकिएको छ भने कात्तिक १ गते न्यायाधीश प्रकाशकुमार ढुङ्गानाले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्नेछन्। त्यस्तै, कात्तिक २ गते न्यायाधीश मनोजकुमार शर्मा, कात्तिक ३ गते नहकुल सुवेदीले रिट सुनुवाइ गर्नेछन्। 

कात्तिक ४ गते शनिवार भने अदालत बन्द रहनेछ।  कात्तिक ५ र ६ गतेका लागि न्यायाधीश प्रकाशमानसिंह राउतले रिट सुनुवाई गर्नेछन्। कात्तिक ७ गते विजया दशमीको दिन अदालत बन्द रहनेछ। यस्तै, कात्तिक ८ गते हरिप्रसाद फुयाँल ९ गते कुमार रेग्मी, १० गते न्यायाधीश तिलप्रसाद श्रेष्ठले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्नेछन्। कात्तिक ११ गते शनिबार अदालत बन्द रहने र आइतबारबाट भने अदालत नियमित सञ्चालनमा आउनेछ।