दशैँ लागेसँगै बजारमा किनमेल गर्नेहरूकाे भिड (तस्वीरहरू)

व्यापारीहरू भने विगतका वर्षहरूको जस्तो यो वर्ष आर्थिक मन्दीको कारण व्यापारको लागि उत्साह नदेखिएको बताउँछन्।

काठमाडाैँ– दशैँ लागेसँगै काठमाडौँ उपत्यकाका मुख्य बजारमा दशैँको लागि किनमेल गर्ने ग्राहकहरूको भिड लाग्‍न थालेको छ।

काठमाडौँको असन, न्युरोड र भोटाहिटी लगायतका क्षेत्रका बजारमा सामान किन्‍ने ग्राहकहरूको भीड लाग्न थालेको छ। विगतको वर्षहरूको जस्तो यो वर्ष आर्थिक मन्दीको कारण व्यापारको लागि उत्साह नदेखिएको व्यापारीहरूले बताएका छन्। तर दशैँको लागेसँगै बजारमा ग्राहकको भीडभाड बढ्दा व्यापारीहरूलाई केही राहत मिल्ने आशा जगाएको उनीहरूको भनाइ छ।

व्यापारीहरूले बजारमा आर्थिक मन्दीको कारण ग्राहकहरूको क्रय शक्ति एकदमै कमजोर रहेको देखिएको व्यवसायीहरूको भनाइ छ। उनीहरूले दशैँ लागेसँगै व्यापार बढेको थालेको पनि बताए। उनीहरूले अझ सरकारी छुट्टी भएपछि ग्राहकहरू बढ्ने आशामा व्यवसायीहरू रहेको बताए। नेपाल राष्ट्रिय व्यापार महासंघ पूर्वअध्यक्ष नरेश कटुवालले होलसेल बजारबाट प्रशस्त सामानहरू बिक्री भए पनि खुद्रा बजारमा धेरै चहलपहल नदेखिएको बताए। 

आर्थिक मन्दीको कारण मानिसहरूको रोजगार गुमेकाले तल्लो तहमा मन्दी रहेको उनकाे भनाइ छ। दुई दिनदेखि बजारमा मानिसहरूको भिडभाड रहेको तर आर्थिक मन्दिको कारण सामान्य चल्ने किसिमले मात्रै खरिद गर्ने गरेको बताए।

त्यस्तै,राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोजकुमार श्रेष्ठले दैनिक ७ हजार मानिसहरू विदेश गइरहेकाले नेपालमा कसलाई सामान बिक्री गर्ने भन्ने अवस्था आएको बताए। उनले उपभोग गर्ने युवाहरू श्रम तथा अध्ययनको लागि विदेश जाने क्रमले पनि बजारमा माग बढ्न नसकेको उल्लेख गरे।

व्यापारीहरूले बजारमा व्यापार नभएको भनेपनि गत शनिबारदेखि काठमाडौँ उपत्यकाका मुख्य व्यापारिक केन्द्रहरूमा ग्राहकहरूको किनमेल गर्ने भिडभाड बढेको छ।