भेडाच्याङ्ग्राको व्यापार घट्दा चिन्तित व्यवसायी

मध्यपहाडी लोकमार्गको पातीहाल्ने, सीप, निसीखोला, बुर्तिबाङ, बडिगाड हुँदै गलकोट आएका तिलु बुढा मगरलाई भेडा व्यापार नभए फर्काउनुपर्छ कि भन्ने चिन्ताले सताइरहेको छ।

बागलुङ– रोल्पाका तिलु बुढा मगर भेडा व्यापारका लागि लेकबाट हिँडेको दुई साता भयो। चार हजार ७०० मिटरको उचाइमा रहेको नालीखोलाबाट बेँसी झर्न उनलाई दुई साता लाग्यो। आइतबार १४ दिनमा उनी बागलुङको गलकोट आइपुगेका थिए।

हरेक वर्ष दशैँमा व्यापारका लागि बजार आउने मगर यस वर्ष निकै निराश भएको बताउँछन्। व्यापारमा निस्केको दुई हप्तामा उनले नौवटा मात्रै भेडाको व्यापार गरे। १५० भेडा लिएर बजार आएका मगर व्यापार नभएपछि चिन्तित छन्। परिवार र दशैँ खर्च चलाउनका लागि यो सिजनमा बजार झरेका उनीलाई व्यापार नहुँदा घर खर्च कसरी चलाउने भन्ने पीरले सताइरहेको छ।

अघिल्लो वर्षको तुनामा यस वर्ष भेडाको मूल्य केही बढेको छ। मगरले साबिककै मूल्यमा बिक्री गर्दा पनि भेडा व्यापार निकै कम भएको बताए। उनका अनुसार अघिल्लो वर्षहरूमा घटस्थापनाको दिनसम्म बजार ल्याएका आधाभन्दा बढी व्यापार हुने गरेकामा यस पटक निकै कम भएको छ।

हरेक वर्ष पर्वतको कुश्मा र डिमुवासम्म पुगेर फर्किने गरेको भन्दै यस वर्ष व्यापार नहुँदा पोखरासम्म पुग्ने योजना रहेको मगरले बताउँछन्। मध्यपहाडी लोकमार्गको पातीहाल्ने, सीप, निसीखोला, बुर्तिबाङ, बडिगाड हुँदै गलकोट आएका मगरलाई भेडा व्यापार नभए फर्काउनुपर्छ कि भन्ने चिन्ताले सताइरहेको छ। वर्षभरि लेकबेँसी गरेर पालेका भेडाले बजार नपाउँदा निकै दुःख लागेको उनले बताए।

पोहोर साल एउटा भेडालाई २८ हजारदेखि ४८ हजार रुपैयाँसम्म पार्ने गरेको भन्दै यस वर्ष ५२ हजार रुपैयाँसम्म पुगेको मगरको भनाइ थियो। पोहोर सालकै मूल्यमा व्यापार नभएपछि केही रकम घटाएर बिक्री गर्नुपरेको उनले बताए। पहिले–पहिले बाटोमा भेडा आए भने व्यापारी बथानमै छिरेर मन परेको भेडा किन्ने गरेका भन्दै यसपालि घरै अगाडि लगेर किन्न आग्रह गर्दा पनि व्यापार नभएको तिलुले गुनासो गरे। पहिलेको तुलनामा यस वर्ष बजार पनि सुनसान पाएको उनले बताए।

“यसपालि दशैँ ढिला आयो। ७ गतेको दिन टीका रैछ, ५ गते त घर फर्किसक्नुपर्छ। मेरो अरू केही व्यवसाय छैन। वर्षभरि यिनै भेडा पाल्छु। दसैँ त हामीजस्ता गोठालाको लागि व्यापार गर्ने ठूलो पर्वजस्तै हो। तर यस वर्ष पहिलाको जस्तो व्यापार भएन। धेरैले पैसा छैन भेडा राख्न सकिँदैन भन्छन्,” मगरले भने, “बजारमा पहिलेको जस्तो चहलपहल पनि देखिएन। किन हो खै? आर्थिक मन्दी भन्छन्। मैले भेडा पाल्न थालेको ३७/३८ वर्ष भयो अहिलेसम्म यस्तो अवस्था कहिले पनि आएको थिएन।”

उनले २८ हजार रुपैयाँ पर्नेलाई २३ हजार र ५२ हजार पर्ने भेडालाई ४०/४५ हजारमा दिँदा पनि कसैले किन्न नमानेको गुनासो पोखे। भेडा व्यापार नभएपछि परिवार चलाउनै समस्या हुने उनको भनाइ छ। ५ गतेसम्म व्यापार नभए गाडीमा हालेर गाउँ फर्किने योजना रहेको उनले सुनाए। 

मगरको जस्तै मुस्ताङबाट आउने भेडाच्याङ्ग्रा पनि अघिल्लो वर्षको तुलनामा कम बिक्री भएको व्यापारीहरूले बताउने गरेका छन्। उपल्लो मुस्ताङदेखि भेडाच्याङ्ग्रा लिएर आएका प्रकाश गुरुङले यस वर्ष निकै कम व्यापार भएको बताए। असोज पहिलो साता नै भेडाच्याङ्ग्रा खरिदका लागि मुस्ताङ पुगेर पाँच सयको हाराहारीमा ल्याए पनि अहिलेसम्म ७० वटा मात्रै बिक्री भएको उनको भनाइ थियो।

बागलुङ, पर्वत, पोखरा, तनहुँ हुँदै काठमाडाैँसम्म पुर्‍याउने योजना रहेको भन्दै आर्थिक मन्दीले व्यापार कम भएको गुरुङले बताए। अघिल्लो वर्ष एक हजार दुई सयभन्दा बढी भेडाच्याङ्ग्रा बजार ल्याउने गरेकामा यस वर्ष घटाएको उनले सुनाए।

“बजारमा सबै सामान महँगिएर आकासिएको छ। भेडाच्याङ्ग्राको मूल्य पनि स्वाभाविक रूपमा बढ्ने नै भयो। पहिले पहिले जति राम्रो व्यापार हुन्थ्यो अहिले छैन,” गुरुङले भने, “यसले गर्दा हामी जस्ता व्यापारी मर्कामा परेका छौँ। गोठमै पुगेर खरिद गरी ल्याउने गरेकामा अहिले किसानले गोठमै महँगोमा बेच्नु हुन्छ। हामीहरूले बजारसम्म ल्याउँदा थोरै मात्र नाफा राखेर बेच्दा पनि बिक्री गर्न मुस्किल पर्छ।”

स्थानीय प्रेमप्रसाद शर्माले बजारमा अन्य सामान बिक्री नहुँदा यस वर्ष भेडाच्याङ्ग्रा किनेर दशैँ बनाउन सक्ने अवस्था नरहेको बताए। पहिलेको तुलनामा बजारमा हुने खाद्यान्न तथा फेन्सी सामानको मूल्य आकासिएको र व्यापार कम हुँदा पोहोरपरार सालको जस्तो हर्षोल्लास नभएको उनको भनाइ थियो। महँगी र घट्दो व्यापारका कारण सामान्य परिवारले भेडाच्याङ्ग्रा किनेर दशैँ मनाउने अवस्था नरहेको उनले बताए।

“तीन/चार वर्षअगाडि त बजारमा किनेमेल गर्ने मान्छेको भीड हुन्थ्यो। अहिले बजार सुनसान छ। बजारका सामान व्यापार भए पो किसानका भेडाच्याङ्ग्रा व्यापार हुन्छन्,” शर्माले भने, “बजार सुनसान भएपछि कसरी भेडाच्याङ्गा किनमेल हुन्छ?, आर्थिक मन्दीले धेरैतिर समस्या पुर्‍याएको छ।”