प्रधानमन्त्री भन्छन्– लाखौँ प्रवासीहरू मतदानबाट वञ्चित हुँदा चुनाव नै फर्जीजस्तो भयो

प्रधानमन्त्री दाहालले देशको आवश्यकता, राजनीतिक चेतना, मूल्य–मान्यताभन्दा पनि भनसुनका आधारमा मतदान गर्ने प्रचलन बढेको टिप्पणी गरे।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा भएका लाखौँ नेपाली मतदानबाट वञ्चित हुँदा चुनाव प्रभावकारी हुन नसकेको बताएका छन्। 

सोमबार जनप्रगतिशील मञ्चआबद्ध गैरआवासीय नेपाली संघ (एनआरएनए)का प्रतिनिधिसँगको छलफलमा उनले विदेशमा भएका लाखौँ नेपाली मतदानबाट वञ्चित हुँदा चुनाव नै फर्जीजस्तो भएको टिप्पणी गरेका हुन्।

“अहिले धेरै नेपाली विदेशमा छन्। उनीहरूको मतदानको अधिकार दिएपछि मात्रै फेयर इलेक्सन हुने भयो नेपालमा। विदेशमा भएका लाखौँ नेपाली मतदानबाट वञ्चित हुँदा चुनाव नै फर्जी हुनेजस्तो भयो। उहाँबाट फोन गरेको भरमा मत राख्नुपर्ने र त्यहाँचाहिँ सोसल मिडियाजस्तो विभिन्न माध्यमबाट प्रभावित हुने खतरा देखा पर्‍यो,” उनले भने।

प्रधानमन्त्री दाहालले देशको आवश्यकता, राजनीतिक चेतना, मूल्य–मान्यताभन्दा पनि भनसुनका आधारमा मतदान गर्ने परिपार्टी बढेको टिप्पणी गरे। उनले वैज्ञानिक ढंगले मतदानको अधिकार पनि दिनुपर्छ भन्ने नीतिअन्तर्गत प्रवासीलाई मतदानको व्यवस्था गर्न निर्देशन दिएको बताए।