एनआरएनएको अध्यक्षमा रविना थापाको उम्मेदवारी दर्ता

एनआरएनएको अध्यक्षमा रविना थापाले उम्मेदवारी दर्ता गराएकी छन्। उनलाई बेलायतका विनय अधिकारी र जापानका विष्णु बानियाँले समर्थन गरेका छन्।

काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा रविना थापाले उम्मेदवारी दर्ता गराएकी छन्। उनले सोमबार एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी हुन्।

उनको प्रस्तावकमा अध्यक्ष उम्मेदवारको चर्चामा रहेका बेलायतका विनय अधिकारी रहेका छन्। अर्का प्रस्तावकमा जापानमा रहेका विष्णु बानियाँ रहेका छन्। त्यस्तै, उनलाई अमेरिकाबाट गगन गुरुङ र सुरेश कोइरालाले समर्थन गरेका छन्।

एनआरएनएको ११औँ महाधिवेशन असोज ३० गते काठमाडौँमा शुरू हुँदैछ। महाधिवेशनमा विभिन्न ८६ देशमा रहेका एनआरएनएका प्रतिनिधिहरू सहभागी हुनेछन्।

थापा अमेरिकामा बसोबास गर्छिन्। उनी एनआरएनएको वर्तमान अध्यक्ष पनि हुन्। १० औँ महाधिवेशनमा अध्यक्षका प्रत्याशी तीन जना भएपछि तीन जनाबीच नै कार्यकाल बाँडफाँट हुने गरी अध्यक्ष तोकिएको थियो। बद्री केसी, कुल आचार्यसँगै थापाले पनि दुई वर्षे कार्यकाल बाँडफाँट गरेर अध्यक्षको जिम्मेवारी सम्हालेकी छन्।

उम्मेदवारी दर्तापछि थापाले आफूले छोटो कार्यकालमा धेरै राम्रो काम शुरूआत गरेको बताउँदै एक पूर्ण कार्यकाल काम गरेर एनआरएनएलाई नयाँ उचाइ दिन चाहेको बताइन्। उनले काम गरे देखाएकोले सबैको समर्थनमा आफू विजयी हुने दाबी गरिन्। 

विदेशमा बस्ने सबै नेपालीको अवस्था एउटै नभएको बताउँदै थापाले विदेशको श्रम बजारमा दुःख पाएका नेपाली, विद्यार्थीदेखि  बलियो आर्थिक र सामाजिक हैसियत बनाएका नेपालीको भावनाको प्रतिनिधित्व आफूले गर्न सक्ने बताइन्। 

वर्तमान उपमहासचिव विनय अधिकारीले एनआरएनएलाई चरम राजनीतिक हस्तक्षेपबाट जोगाउन आफूले अध्यक्ष पदको उम्मेदवारी छोडेर थापालाई समर्थन गरेको बताए।

आपसी विवाद र गुटबन्दीले संघको छवि धमिलिएको बताउँदै अधिकारीले सहमति, सहकार्य र एकता नै अब को आवश्यकता औँल्याउँदै  त्यसकालागि थापा एक मात्र विकल्प रहेको दाबी गरे।