नवरात्रको तेस्रो दिन: चन्द्रघण्टा देवीको पूजा गरिँदै

नवरात्रका अवसरमा देशभरका शक्ति पीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको विशेष भीड लाग्छ। 

काठमाडौँ– बडादशैँ एवं नवरात्रको तेस्रो दिन मंगलबार दशैँघर वा पूजा कोठामा चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।

चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको धर्मशास्त्रमा उल्लेख छ। देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्व सहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए। 

“चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो,” उनले भने, “चन्द्रघण्टा देवीको स्वरूप पहेँलो वर्णको हुन्छ। यस्ती देवीले अत्याचारी दानवी स्वरूपलाई नाश गर्ने विश्वास छ।” चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ। चन्द्रघण्टा देवीको स्वरूपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने सापकोटाले बताए। 

चन्द्रघण्टा देवीको स्वरूप सामान्य, शान्त, एवं करुणामयी छ। गीत संगीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्ने वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराई बताउँछन्। आजका दिन चन्द्रघण्टा देवीको पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने पनि उनले सुनाए। 

नवरात्रको पहिलो दिन आइतबार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। दोस्रो दिन ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक आराधना गरिएको थियो। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्‌देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ। 

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। नवरात्रका अवसरमा देशभरका शक्ति पीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको विशेष भीड लाग्छ।