रुसद्वारा जापानी माछा तथा समुद्री खाना आयातमा अस्थायी प्रतिबन्ध

जापानले सुरक्षा पुष्टि गर्ने विस्तृत जानकारी प्रदान नगरेसम्म प्रतिबन्ध कायम रहने रुसले जनाएको छ।

तस्वीर: एपी

रुसले जापानबाट आयात हुने माछा र समुद्री खानामा अस्थायी प्रतिबन्ध लगाएको छ।

रुसको कृषि निगरानी संस्था रोसेल खोज्नाडजोरका अनुसार अक्टोबर १६ देखि रुसले जापानबाट माछा र समुद्री खानाको आयातमा अस्थायी प्रतिबन्ध लगाएको हो। 

यो निर्णय स्वास्थ्यको सावधानीको उपायका रूपमा लिइएको र मस्कोलाई सुरक्षा पुष्टि गर्ने विस्तृत जानकारी प्रदान नगरेसम्म प्रतिबन्ध कायम रहने रुसले जनाएको छ।

सुनामीबाट भत्किएको फुकुसिमा दाइची आणविक उर्जा केन्द्रले प्रशोधित र पातलो रेडियोएक्टिभ फोहोर पानी समुन्द्रमा छोड्न थालेको दुई महिनापछि रुसले जापानी समुद्री खाना आयातमा प्रतिबन्ध लगाएको समाचार संस्था एपीले जनाएको छ। 

दशकौँसम्म जारी रहने अपेक्षा गरिएको फोहोर पानी निकासीको माछा मार्ने समूह र दक्षिण कोरियालगायत छिमेकी देशले कडा विरोध गरेका छन्।

यसअघि चीनले पनि उक्त प्रतिबन्ध लगाइसकेको छ। अगस्टमा पानी ‘रिलिज’ शुरू भएको दिनबाटै चीनले जापानी समुद्री खाना आयातमा प्रतिबन्ध लगाएको थियो।