बेमौसमी वर्षाले धानबालीमा क्षति

कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले सूचना प्रकाशित गरेर किसानलाई बाली नकाट्न सल्लाह दिएका छन्।

तस्वीर: रासस

टीकापुर– कैलालीमा बेमौसमी वर्षा भएपछि किसान दुःखी भएका छन्। सोमबार दिउँसोबाट वर्षा शरू भएपछि धान पाकेर भित्र्याउन जुटेका किसान बाली नोक्सान हुने पिरले चिन्तामा छन्।

काटेर सुकाएको धान पानीमा भिजेको टीकापुरका किसान निर्मल विकले बताए।‍ पानी पर्ने सूचना पाएपछि धान थ्रेसिङ गर्ने तयारी गरे पनि ट्रयाक्टर नपाउँदा निर्मलको सुकेको धान खेतमै भिज्यो। “ट्रयाक्टर आउँछ भनेर बाटो कुरेर बसेँ, आएन, समयमै धान घर भित्र्याउन पाइएन,” उनले भने, “हावाहुरीले धान यत्रतत्र छरिएको छ। अझै वर्षा भएमा खेतमै सड्ने चिन्ता बढेको छ।”

अर्का किसान पदम ओलीको खेतमा धान पाकेर बाला झुलेका छन्। वर्षाको डरले धान नकाटेका पदमको खेतमा सोमबारको हावाहुरीसहितको वर्षाले क्षति पुर्‍याएको छ। “हिजोको वर्षा र हावाहुरीले धान भाँचेको छ,” उनले भने, “अझै वर्षा भएमा धेरै क्षति हुन्छ। घर भित्र्याउने बेलामा हरेक वर्ष किन वर्षा हुन्छ होला?”

किसानले हरेक वर्ष आउने बेमौसमी वर्षाका कारण पछिल्ला तीन वर्षयता धानबाली राम्ररी भित्र्याउन पाएका छैनन्। कैलालीमा अधिकांश किसानले धान काटेको, केहीको काट्न बाँकी छ। “२०७८ सालमा आएको बाढीले तीन बिघा धानबाली बगेर गयो, गत वर्ष पनि आधा मात्रै जोगियो,” टीकापुर–५ का हरि चौधरीले भने, “यस वर्ष पनि मौसमसम्बन्धी सूचना हेरेर धान काटेका छैनौँ, तर हावासहितको पानी आएकाले आधा नोक्सान भइसक्यो, अझै वर्षा भएमा यस वर्ष पनि धान भित्र्याउन नपाइनेजस्तै छ।”

किसान पार्वती चौधरीले पानी आउन थालेपछि काटेको धान भिजेको बताइन्। “मौसम परिवर्तन हुन थालेपछि हतार–हतारमा काटेको धान बोक्यौँ तर सकिएन,” उनले भनिन्, “आधाआधी बोक्यौँ, बाँकी धान खेतमै भिज्यो।”

टीकापुर–४ का किसान विपीन चौधरीले किसानले काटेको धान खेतमै थुप्रो लगाएको बताए। “किसान दिनभरि तनावमा रह्यौँ, अधिकांशले काटेको धान खेतमै थुप्रो लगाएका छन्,” उनले भने, “अब यसरी राखिएको धान फेरि मुठा खोलेर सुकाउनुपर्छ, किसानको काम पनि बढ्यो, बालीमा समेत क्षति भयो।” 

वर्षा अझै हुने भएकाले कृषि प्राविधिकले किसानलाई केही दिन धान बाली नकाट्न सल्लाह दिएका छन्। कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले सूचना प्रकाशित गरेर किसानलाई बाली नकाट्न सल्लाह दिएका छन्।