कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नागरिकता

जिल्ला प्रशासन कार्यालय काठमाडौँले असोज २९ गते केसी र जिल्ला प्रशासन कार्यालय पर्वतले असोज २८ गते आचार्यका नाममा नागरिकता जारी गरेको थियो।

काठमाडौँ– सरकारले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बालुवाटारमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई नागरिकता प्रदान गर्दै गैरआवासीय नागरिकता वितरणको शुरूआत गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले असोज २९ गते केसी र जिल्ला प्रशासन कार्यालय पर्वतले असोज २८ गते आचार्यका नाममा नागरिकता जारी गरेको थियो।

नेपालको संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ।

विदेशी मुलुकको नागरिकता प्राप्त गरेको, सार्क सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको, साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने संवैधानिक व्यवस्था छ।

संविधान जारी भएको लामो समयपछि सरकारले नेपाल नागरिकता ऐन, २०६३ संशोधन गरी गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नागरिकता प्रदान गर्ने व्यवस्था मिलाएको थियो। 

७७ वटै जिल्लाबाट गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था मिलाइएको गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिए। गैरआवासीय नेपालीले नागरिकताका लागि अब गैरआवासीय नागरिकताका लागि आवेदन दिन सक्नेछन्। आगामी कात्तिक १ गतेदेखि सबै जिल्ला प्रशासन कार्यालयबाट गैरआवासीय नागरिकता वितरण गरिने उनले बताए। 

गैरआवासीय नेपालीले लामो समयदेखि आफूहरूलाई नेपाली नागरिकता प्रदान गर्न माग गर्दै आएका थिए।