एनआरएनएको विश्व सम्मेलन शुरू, नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान

सम्मेलनअन्तर्गत मंगलबार र बुधबार तेस्रो विश्व ज्ञान सम्मेलन हुनेछ। नयाँ नेतृत्व चयनका निम्ति बिहीबार मतदान हुने एनआरएनएले जनाएको छ। 

काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ विश्व सम्मेलन काठमाडौँमा  शुरू भएको छ।

‘ज्ञान र रूपान्तरण, समृद्धिको आधार’ नारासहित शरू भएको सम्मेलनको मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे। उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले नेपालमा लगानीको अपार सम्भावना रहेको र त्यसको उपयोग गर्न आग्रह गरे। 

“नेपालमा आर्थिक समृद्धिका लागि पर्यटन, पूर्वाधार, सूचना तथा सञ्चार क्षेत्रमा लगानीको ठूलो सम्भावना छ,” राष्ट्रपति पौडेलले भने, “हाम्रो छिमेकमा ठूलो बजार छ। नेपालमा लगानीको अपार सम्भावनाको उपयोग गर्नुहोस्।”

आर्थिक विकास लागि आवश्यक पूर्वाधार बनाउन बहुपक्षीय साझेदारीसहित विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी र प्रविधि महत्त्वपूर्ण रहने राष्ट्रपति पौडेलको भनाइ छ। 

काठमाडौँको सोल्टी होटेलमा जारी सम्मेलन शुक्रबारसम्म चल्नेछ। सम्मेलनअन्तर्गत मंगलबार र बुधबार तेस्रो विश्व ज्ञान सम्मेलन हुनेछ। नयाँ नेतृत्व चयनका निम्ति बिहीबार मतदान हुने एनआरएनएले जनाएको छ। 

एनआरएनएको ११औँ सम्मेलनमा चार हजार २२७ मतदाता छन्।