इनरुवा सबस्टेसन निर्माण, कोशी प्रदेशमा उत्पादित विद्युत् निर्यात सहज हुने

अरुण तथा तमोर नदी र तिनीहरूका सहायक खोलानालामा निर्माण गरिएका/हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोशी  करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ।

काठमाडौँ– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभीको इनरुवा सबस्टेसन निर्माण भएको छ। 

ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस)मा आधारित स्वचालित सबस्टेसन निर्माण सम्पन्न गरी सोमबार चार्ज गरिएको हो।

मुलुकभित्र पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँगको विद्युत् व्यापारका लागि जीआईएस प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै पहिलो र इनरुवा दोस्रो ठूलो सबस्टेसन हो। इनरुवामै २२०/१३२/३३ केभीको अर्को सबस्टेसन यसअघि नै निर्माण भइसकेको छ। 

इनरुवा सबस्टेसनमा ३१५ एमभीए क्षमताका तीन थान पावर ट्रान्सफर्मर छन्। जसको क्षमता ९४५ एमभीए छ। इनरुवा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि इनरुवा सबस्टेसनबाट करिब ४ हजार मेगावाट विद्युत् आदानप्रदान हुन सक्ने छ। इनरुवा–ढल्केबर प्रसारण प्रसारण लाइनको तार तान्ने काम भइरहेको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशमा उत्पादित विद्युत् प्रसारण गर्न, स्थानीय रूपमा खपत गर्न र भारततर्फ निर्यातका लागि इनरुवा सबस्टेसन मेरुदण्डका रूपमा रहेको बताए।

“सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका अतिरिक्त स्थानीय रूपमा आपूर्तिसमेत गरिने छ,” उनले भने, “यसबाट त्यस क्षेत्रको भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ।”

यही सबस्टेसनबाट भारतसँगको विद्युत् व्यापारका लागि इनरुवा–पूर्णिया ४०० केभी अन्तरदेशीय र नेपाल, भारत तथा  बंगलादेशबीचको व्यापारका लागि इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइन प्रस्ताव गरिएको उनले बताए। मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगहरुलाई थप विद्युत् दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन इनरुवा सबस्टेसनलाई महत्वपूर्ण मानिएको छ ।  

अरुण तथा तमोर नदी र तिनीहरूका सहायक खोलानालामा निर्माण गरिएका/हुने जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् कोशी  करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ।

कोशी करिडोरको इनरुवा–बसन्तपुर–तुम्लिङटार खण्ड निर्माण सम्पन्न भइसकेको छ। वसन्तपुर–ढुंगेसाँघुखण्ड निर्माणाधीन छ। यस्तै, तुम्लिङटार–शीतलपाटी २२० केभी प्रसारण लाइन आयोजना पनि निर्माणाधीन छ। 

नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण भएको इनरुवा सबस्टेसनको अनुमानित लागत २० करोड ४८ लाख रुपैयाँ छ।