महँगी बढ्यो, बाह्य क्षेत्र बलियो

साउनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ८.१५ प्रतिशत रहेकोमा भदौमा ९.७४ प्रतिशत पुगेको छ।

काठमाडौँ– मूल्यवृद्धि निरन्तर उकालो लागेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ। २०८० साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५२ प्रतिशत रहेकोमा भदौमा ८.१९ प्रतिशत पुगेको छ।  

गत आर्थिक वर्षको भदौमा भने ८.६४ प्रतिशत रहेको थियो। सरकारले चालु आर्थिक वर्षमा मूल्यवृद्धि साढे ६ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ। 

साउनको तुलनामा खाद्य तथा पेय पदार्थ दुवै समूहको मूल्य बढेको छ। साउनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ८.१५ प्रतिशत रहेकोमा भदौमा ९.७४ प्रतिशत पुगेको छ।

यो अवधिमा काठमाडौँ उपत्यकाको मुद्रास्फीति ९.८३ प्रतिशत, तराईको ७.०३ प्रतिशत, पहाडको ८.०९ प्रतिशत र हिमालको ११.३२ प्रतिशत रहेको छ।

बाह्य क्षेत्र निरन्तर बलियो
साउनमा १२ अर्ब ९९ करोडले चालु खाता बचतमा रहेकोमा भदौमा आइपुग्दा २३ अर्ब ५० पुगेको रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनमा उल्लेख छ।  गत  वर्षको भदौमा भने चालु खाता घाटा ३६ अर्ब ८४ करोड रहेको थियो।

निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका चालु प्रकृतिका आर्थिक कारोबारको सारांश नै चालु खाता सन्तुलन हो।

यो अवधिमा शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडले बचतमा देखिएको छ। गत आर्थिक वर्षको भदौमा भने २० अर्ब ८१ करोडले घाटामा रहेको थियो।

साउनको तुलनामा भदौ महिनामा रेमिट्यान्स आप्रवाह केही घटेको छ। गत साउनमा भने १ खर्ब १६ अर्ब २ करोड रेमिट्यान्स आएकोमा भदौमा १ खर्ब १२ अर्ब ३५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ।

गत भदौमा मात्र कुल विदेशी विनिमय सञ्चिति २५ अर्ब ७८ करोडले बढेको छ। गत असारको तुलनामा भने कुल विदेशी विनिमय सञ्चिति ३.९ प्रतिशतले बढेर भदौमा १५ खर्ब ९८ अर्ब ९० करोड पुगेको छ। यसले १०.३ महिनाको  वस्तु तथा सेवाको आयात धान्न पुग्ने केन्द्रीय बैंकले जनाएको छ।

२ महिनामा विदेश जाने विद्यार्थीले लगे २३ अर्ब ३३ करोड
उच्च शिक्षा अध्ययनका लागि विदेश गएका विद्यार्थीसँगै चालु आर्थिक वर्षको दुई महिनामै (साउन–भदौमा) २३ अर्ब ३३ करोड रुपैयाँ बाहिरिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने १२ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको थियो। 

दुई महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय ७६.५ प्रतिशतले बढेर ३५ अर्ब ६० करोड पुगेको छ। यसमध्ये शिक्षातर्फको व्यय २३ अर्ब ३३ करोड रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २० अर्ब १६ करोड रहेकोमा शिक्षातर्फको व्यय १२ अर्ब ७६ करोड रहेको थियो।

भ्रमण आय बढ्यो
यो अवधिमा पर्यटकबाट हुने आम्दानी उल्लेख्य बढेको छ। साउन र भदौमा भ्रमण आय ५३.९ प्रतिशतले बढेर ९ अर्ब ३४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ। गत वर्षको सोही अवधिमा यस्तो आय ६ अर्ब ७ करोड रहेको थियो।