खाद्यले थाल्यो खसीबोका र च्याङ्ग्राको बिक्री

स्वास्थ्य परीक्षण गरेर ल्याउने भएकाले खाद्यले बिक्री गर्ने खसीबोका र च्याङ्ग्रा स्वस्थ रहने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दको दाबी छ।

काठमाडौँ– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मंगलबारदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्न शुरू गरेको छ। खाद्यले खसीबोका र च्याङ्ग्रा सोमबार काठमाडौँमा ल्याएसँगै मंगलबारदेखि सहुलियत मूल्यमा बिक्री गर्न शुरू गएको हो। 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले कम्पनीले बजार मूल्यभन्दा केही सस्तो र सहुलियत रूपमा खसीबोका बिक्री थालेको बताए। उनले यो वर्ष ढुवानी भाडा महँगो भए पनि मूल्यवृद्धि नगरिएको दाबी गरे।

विगतका वर्षजस्तै प्रतिकिलो जिउँदो खसीबोका र च्याङ्ग्राको मूल्यमा १० रुपैयाँ छुट दिएर बिक्री थालिएको उनको भनाइ छ। “बजारमा च्याङ्ग्रा १४ सय रुपैयाँमा बिक्री भइरहेको छ भने १२ सय ५० मा बिक्री वितरण गरेका छौँ। बजारमा खसीको ७ सय रुपैयाँमाथि छ, तर हामीले ६७० रुपैयाँमा दिएका छौँ,” उनले भने। 

उनले सरकारले बजारको मागलाई पूरा गर्नभन्दा पनि बजारमा मूल्यवृद्धि हुन नदिन आफैँ खसीबोका खरिद गरेर बिक्री वितरण गरिएको बताए। “सरकारले बजारको मागभन्दा पनि बजार मूल्यवृद्धि हुन नदिनका लागि आफैँ खसीबोका खरिद गरेर बिक्रीवितरण गरिएको हो,” उनले भने, “दशैँमा सबै खसीबोका र च्याङ्ग्रा बिक्री नभएसम्म बिक्री गर्छौं।”

प्रमुख कार्यकारी अधिकृत चन्दका अनुसार खाद्यले यो वर्ष पनि २ हजार खसीबोका र १ हजार च्याङ्ग्रा ल्याएको छ। हेटौँडा र तुलसीपुरबाट खसीबोका र रसुवाबाट च्याङ्ग्रा ल्याइएको हो। स्वास्थ्य परीक्षण गरेर ल्याउने भएकाले खाद्यले बिक्री गर्ने खसीबोका र च्याङ्ग्रा स्वस्थ रहने उनको भनाइ छ।