राष्ट्रपति पौडेलले नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपाली नागरिकता दिने व्यवस्था गरेबाट एनआरएनको माग सम्बोधन भएको बताए।
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपालीलाई नागरिकता दिने व्यवस्थाले उनीहरूलाई नेपालसँग थप नजिक ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएन)को विश्व सम्मेलन तथा ११औँ महाधिवेशनको मंगलबार काठमाडौँमा उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपाली नागरिकता दिने व्यवस्था गरेबाट एनआरएनको माग सम्बोधन भएको बताए।
“नेपाल सरकारले विभिन्न नीतिगत तथा कानूनी व्यवस्थाको तर्जुमा गरेको छ। संविधानबमोजिम एनआरएनले नेपाली नागरिकता पाउने व्यवस्थाले तपाईंहरूलाई नेपालसँग थप नजिक ल्याउन मद्दत पुग्नेछ भन्ने मेरो विश्वास छ” राष्ट्रपति पौडेलले भने।
उनले नेपाल र नेपालीको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने कार्यमा ठोस् योगदान गर्न र विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई एकताबद्ध गर्न एनआरएनएले विगतदेखि नै भूमिका खेल्दै आएको भन्दै आगामी दिनमा समेत नेपालको समग्र विकासमा यसले थप भूमिका निर्वाह गर्ने बताए।
“विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली नेपाली नै हो,” राष्ट्रपति पौडेलले भने, “शान्त, समृद्ध र समुन्नत नेपाल हेर्न र अनुभूत गर्न चाहनुहुन्छ भन्ने तपाईंहरूको व्यवहार र अभिव्यक्तिले स्पष्ट पारेको छ। यही आत्मियताले देशभित्र र बाहिर बस्ने नेपालीलाई एकताबद्ध गरेको छ भन्ने पनि मलाई लाग्छ। यही पृष्ठभूमिमा आयोजित यो सम्मेलनमा तपाईंहरूद्वारा प्रस्तावित छलफलका विषय र उद्देश्यहरू हामी सबैका लागि सान्दर्भिक ठानेको छु।”
उनले राजनीतिक परिवर्तनपश्चात् देश आर्थिक विकासको चरणमा प्रवेश गरेको तर, संक्रमणकाल लामो बन्दा मुलुकमा केही चुनौती पनि देखा परेको उल्लेख गरे। “हामीले राज्यको प्रशासनिक पुनर्संरचना त गर्यौँ, तर, राज्यको चरित्र र जीवन पद्धतिको पुनर्संरचना अझै हुन बाँकी छ,” उनले भने, “संघीय लोकतान्त्रिक गणतन्त्रका निश्चित मूल्य मान्यता, सिद्धान्त र दर्शन छन्। जबसम्म ती मूल्य मान्यता, सिद्धान्त र दर्शनलाई हामी आत्मसात् गर्न सक्दैनौँ तबसम्म ती चुनौतीहरूको सामना गर्न सक्दैनौँ।”
राष्ट्रपति पौडेलले नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाको दृष्टिकोणबाट पनि वैभवशाली मुलुक भएको र यहाँको जातीय, भाषिक, सांस्कृतिक, धार्मिक, जैविक विविधता विश्वकै लागि अनुपम छन् भन्दै प्रकृति र संस्कृतिको यो अनुपम सगमलाई जोगाउँदै देश र जनताको हित प्रवर्द्धन गर्दै विश्व समुदायमा नेपाल र नेपालीको विशिष्ट पहिचान गराउनु हामी सबैको राष्ट्रिय कर्तव्य भएको बताए।
उनले नेपाल बाहिर रहेर जीवनयापन गर्दैगर्दा आफ्ना सन्तानहरूले आफ्नो भाषा, संस्कृति भुल्ने सम्भावना रहने हुँदा त्यसप्रति सचेत हुन एनआरएनलाई आग्रह गरे।
नेपालप्रतिको अपनत्व अभिवृद्धि गर्न र समाजसित अटुट निकटता राख्न नयाँ पुस्तालाई समय–समयमा नेपाल ल्याउने र यहाँको संस्कृति, सामाजिक परिवेश तथा भूगोलसँग परिचित गराइराख्न पनि उनले एनआरएनएलाई अनुरोध गरे।
“नेपालमा विश्वप्रसिद्ध सगरमाथालगायत अग्ला र रमणीय पहाड मात्रै छैनन्, एकातिर यहाँ दुर्लभ जैविक विविधता पाइन्छ भने अर्कोतर्फ हिउँले भरिएको पहाड खानेपानीको मुहानको रूपमा परिचित छन्,” उनले भने, “तर, दुर्भाग्यवश विश्वव्यापी जलवायु परिवर्तनको दुष्प्रभावले गर्दा मूल्यवान् प्राकृतिक स्रोतहरू संकटमा पर्न थालेको छन्।”
राष्ट्रपति पौडेलले आजको चुनौती कसरी जैविक विविधतालाई सुरक्षित राख्न सकिन्छ भन्ने रहेको उल्लेख गर्दै यी क्षेत्रमा पनि गैरआवासीय नेपालीले आफ्नो योगदान कसरी पुर्याउन सक्छ त्यो आफ्नो पनि चासोको विषय भएको बताए। उनले नेपालका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल एवम् नेपाली राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रूपमा विकसित गर्ने एउटा योजनातर्फ पनि एनआरएनएको ध्यान आकर्षित गराए।
राष्ट्रपति पौडेलले गैरआवासीय नेपाली विश्व सम्मेलन, ज्ञान सम्मेलन र युवा तथा महिला सम्मेलनले एनआरएनएको एकता र सहकार्यलाई थप सुदृढ र मजबुत बनाउनुको साथै नेपालसँगको सम्बन्ध अझ विस्तार गर्नेमा उनको विश्वास छ। उनले नेपालको विकास र समृद्धिको बाटोमा एनआरएनएको रणनीतिक साझेदारीलाई थप स्पष्ट र विस्तारित गराउन सम्मेलन उपलब्धिपूर्ण हुने विश्वास व्यक्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
