विदेशी मुद्रा सञ्चितिमा सुधार

गत असारको तुलनामा वैदेशिक मुद्राको सञ्चितिमा २.५ प्रतिशतले वृद्धि भई असोज मसान्तसम्म १२ खर्ब ४६ अर्ब २२ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।

काठमाडौँ- कुल विदेशी विनिमय सञ्चितिमा सुधार देखिएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार असोज महिनामा मात्र वैदेशिक सञ्चिति ५७ अर्ब ६ करोड रुपैयाँले बढेको हो। 

गत असारको तुलनामा भने वैदेशिक विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई असोज मसान्तमा १२ खर्ब ४६ अर्ब २२ करोड पुगेको हो। गत असारमा यस्तो सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो।

तर भदौ मसान्तसम्म आइपुग्दा २६ अर्ब ६४ करोड रुपैयाँले घटेको थियो। विदेशी मुद्रा सञ्चितिमा दबाब पर्न थालेपछि सरकारले विलासीताका केही वस्तुहरूको आयातमा लगाएको प्रतिबन्ध लम्बाएको थियो। हाल रहेको विदेशी विनिमय सञ्चितिले ९.६ महिनाको वस्तु र ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ। यसअघि भदौ मसान्तसम्म रहेको सञ्चितिले ७.७ महिनाको मात्र वस्तु तथा सेवा आयात धान्न सक्ने थियो।

शोधानान्तर स्थिति १२ अर्ब ४३ करोडले बचतमा
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा शोधानान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा देखिएको छ। विदेशमा बस्ने नेपालीले पठाउने रेमिट्यान्स बढेको र आयात घट्दा शोधानान्तर स्थितिमा सुधार देखिएको  हो। मुलुकबाट बाहिरिने र भित्रिने रकमको अन्तर नै शोधानान्तर हो। गत भदौमा शोधानान्तर स्थिति २३ अर्ब ६८ करोडले घाटामा थियो।

राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को पहिलो ३ महिनाको तुलनामा शोधानान्तर स्थितिमा उल्लेख्य सुधार आएको हो। सो अवधिमा ८७ अर्ब ७१ करोड रुपैयाँले शोधानान्तर स्थिति घाटामा थियो।  

अमेरिकी डलरमा अघिल्लो वर्षको पहिलो त्रैमासिकमा ७४ करोड १२ लाखले घाटामा रहेको शोधानान्तर स्थिति चालु आर्थिक वर्षको सोही अवधिमा भने ९ कोड १८ लाखले बचतमा छ। 

यस्तै साउनदेखि असोजसम्म चालु खाता घाटा ३४ अर्ब २८ करोड पुगेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ खर्ब १५ अर्ब ५३ करोड रुपैयाँले कम हो। अघिल्लो आर्थिक वर्षको तीन महिनामा चालु खाता घाटा १ खर्ब ४९ अर्ब ८१ करोडले घाटामा थियो। मुलुकभित्र आउने कुल विदेशी मुद्रा र बाहिरिने मुद्राबिचको अन्तर नै चालु खाता घाटा हो।  बढी मुद्रा भित्रिए चालु खाता बचतमा हुन्छ भने धेरै बाहिरी घाटा हुन्छ।

रेमिट्यान्स १६.८ प्रतिशत बढ्यो
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको असोजमा विदेशबाट नेपालीले पठाउने रेमिट्यान्समा १६.८ प्रतिशतले वृद्धि भएको छ। साउनदेखि असोज मसान्तसम्म २ खर्ब ८१ अर्ब ५ करोड रेमिट्यान्स मुलुक भित्रिएको छ। अघिल्लो वर्षको असोजमा रेमिट्यान्स ७.१ प्रतिशतले घटेको थियो।

आयात १६ प्रतिशतले घट्यो
चालु आर्थिक वर्ष २०७९/८० को तीन महिनामा कुल वस्तु आयात १६.२ प्रतिशतले कमी आई ४०१ अर्ब पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६३ दशमलव ७ प्रतिशतले बढेको थियो। आयातसँगै पहिलो तीन महिनामा निर्यातमा पनि ३५.७ प्रतिशतले गिरावट आएको राष्ट्र बैंकको तथ्यांक छ। पहिलो त्रैमासिकमा मुलुकको व्यापार घाटा ३ खर्ब ५९ अर्ब १८ करोड पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा १३.१ प्रतिशतले कम हो।