स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री अस्पतालमा

प्रधानमन्त्री दाहालको स्वास्थ्य अवस्था सामान्य रहेको र मंगलबार नै निवास फर्किने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माको भनाइ छ।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थापाथलीस्थित नर्भिक अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गरिएको छ। छातीमा असहज भएपछि मंगलबार साँझ प्रधानमन्त्री दाहाल स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका हुन्।

प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार स्वास्थ्य परीक्षणका लागि नर्भिक अस्पताल पुगेको उनको ‘एन्जिओग्राम’ गरिएको छ। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनी केही समय अस्पतालमा नै आराम गरेर मंगलबार नै निवास फर्किने छन्।

“प्रधानमन्त्रीज्यू स्वास्थ्य परीक्षणका लागि अस्पताल आउनु भएको हो। अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र आज नै निवास फर्किनु हुनेछ,” शर्माले उल्लेख गरे।