वर्षा र हावाहुरीले केराखेतीमा क्षति

कैलाली जिल्लामा करिब एक हजार २०० हेक्टरमा केराखेती हुने गरेको छ। जसमा ८००  हेक्टर क्षेत्रफल टीकापुर क्षेत्रमा मात्र केराखेती गरिएको छ।

फाइल तस्वीर

टीकापुर– बेमौसमी वर्षासँगैको हावाहुरीले कैलालीमा केराखेतीमा क्षति गरेको छ। बजार पठाउने बेला भएको केरा हावाहुरीले नष्ट गरेको किसानले बताएका छन्। अहिले किसानले उत्पादन गरेको केरा बजारमा पठाउने समय हो। असोज २९ गते वर्षासँगै आएको हावाहुरीले धानबाली र केराखेतीमा क्षति भएको हो। 

पाँच बिघा क्षेत्रफलमा केराखेती गरेका टीकापुर–५ झन्झटपुरका रेवन्त साउदको केराबारीमा करिब ७५ प्रतिशत क्षति भएको छ। अधिकांश केराका बोट हावाहुरीले ढालिदिएको उनले सुनाए। “उत्पादन लिने बेलामा हावाहुरीले केराका सबै बोट नोक्सान गर्‍यो,” उनले भने, “वर्षभरिको मेहनत खेर गयो, लगानी पनि डुब्यो।”

अर्का केरा उत्पादक किसान रामबहादुर कुँवरले पनि जोशीपुरको झवही, टीकापुरको शंकरपुर, जानकीको गोलौरीमा गरी ३२ बिघा क्षेत्रफलमा केराखेती गरेका छन्। उनको बारीमा पनि क्षति भएको छ। “अहिलेसम्म कति ढले भन्ने यकिन गर्न सकेको छैन, जताबाट हेर्दा नि नोक्सान भएको छ,” उनले भने, “पाक्ने बेला भएका केरा ढलेपछि सबै सकियो।”

केरा उत्पादक संघ कैलालीका अध्यक्ष दीपेन्द्र थारुका अनुसार कैलालीमा हावाहुरीले ३० प्रतिशत केरामा क्षति पुर्‍याएको छ। टीकापुर नगरपालिकामा बढी क्षति भएको छ। “कुनै किसानको त ७०–८० प्रतिशतसम्म पनि क्षति भएको छ,” उनले भने, “यो क्षतिलाई हेर्दा करोडभन्दा धेरै क्षति भएको छ।” हावाहुरीले गरेको क्षतिको यकिन विवरण आउन अझै केही दिन लाग्ने उनले बताए। 

अध्यक्ष थारुले बर्सेनि केराखेतीलाई हावाहुरीले यसरी क्षति गरिरहने भएकाले सबै केरा उत्पादक किसानलाई बाली बीमा गर्न आग्रहसमेत गरे। “बाली बीमा गर्दा केही मात्रामा भए पनि किसानलाई राहत पुग्छ,” उनले भने।

कैलाली जिल्लामा करिब एक हजार २०० हेक्टरमा केराखेती हुने गरेको छ। जसमा ८००  हेक्टर क्षेत्रफल टीकापुर क्षेत्रमा मात्र केराखेती गरिएको छ। सोमबार आएको हावाहुरीले नागरिकका घरमा समेत क्षति पुर्‍याएको छ। हावाहुरीले टीकापुर– ४ मा २६ वटा घरमा क्षति गरेको वडाध्यक्ष लालवीर चौधरीले बताए।