विश्वकप छनोट: अर्जेन्टिनाको लगातार जित, उरुग्वेसँग ब्राजिल पराजित

अर्जेन्टिना १२ अंकसहित तालिकाको शीर्षस्थानमा छ। ७ अंक रहेको ब्राजिल तेस्रो स्थानमा झरेको छ।

काठमाडौँ– फिफा विश्वकप छनोटमा उरुग्वेले ब्राजिललाई पराजित गरेको छ। दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान भएको खेलमा उरुग्वे २–० ले पराजित भएको हो। 

घरेलु टोली उरुग्वेका लागि ४२औँ मिनेटमा डार्विन नुनेज र ७७औं मिनेटमा निकोलस डे ला क्रुजले गोल गरे। 

पहिलो हाफको अन्त्यतिर नेयमार चोटका कारण बाहिरिनु परेपछि ब्राजिल समस्यामा परेको थियो। उनको बायाँ घुँडामा गम्भीर चोट लागेको छ। 

यसअघि उरुग्वेले सन् २००१ मा भएको विश्वकप छनोटमा नै ब्राजिललाई १–० ले पराजित गरेको थियो। विश्वकप छनोटको ३७ खेलमा ब्राजिलको यो पहिलो हार हो।

यस्तै, बुधबार नै लियोनेल मेस्सीप्रेरित अर्जेन्टिनाले लगातार चौथो जित दर्ता गरेको छ। अर्जेन्टिनाले पेरुलाई २–० ले पराजित गर्दै जारी छनोटमा अपराजित यात्रा कायम राखेको हो। अर्जेन्टिनाका लागि दुवै गोल मेस्सीले गरे। 

खेलको ३२औँ मिनेटमा मेस्सीले गोल गरेपछि अर्जेन्टिनाले अग्रता लिएको थियो। उनले ४२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सहज जित दिलाए। 

जितपछि अर्जेन्टिना १२ अंकसहित तालिकाको शीर्षस्थानमा छ। ७ अंक रहेको ब्राजिल तेस्रो स्थानमा झरेको छ।