जनकपुरमा शुक्रबार झिझिया महोत्सव हुने

मिथिलाको लोक संस्कृति, लोक गायन र धार्मिक परम्परालाई पछ्याउँदै महोत्सव आयोजना गर्न लागिएको नव मिथिला फाउन्डेसनले जनाएको छ।

जनकपुरधाम– जनकपुरमा सांस्कृतिक नृत्य ‘झिझिया महोत्सव’ हुने भएको छ। नव मिथिला फाउन्डेसनको आयोजनामा आगामी शुक्रबार झिझिया महोत्सव हुन लागेको हो। 

मिथिलाको लोक संस्कृति, लोक गायन र धार्मिक परम्परालाई पछ्याउँदै महोत्सव आयोजना गर्न लागिएको फाउन्डेसनका अध्यक्ष अमित कुमारले बताए।

उनका अनुसार पहिलोपटक ५०० जना टाउकोमा घैँटा राखेर झिझियाको गीतमा नाच्ने छन्। जसमा केही झिझियाको समूह र जनकपुरका स्कुल क्याम्पसका छात्रा एकै लयमा झिझिया नाच्ने उनले बताए।

जनकपुरस्थित रेल्वे स्टेसनको प्रांगणमा हुने महोत्सवको शुरूमा वक्ताहरूले झिझियाको विगत, वर्तमान र भविष्यबारे चर्चा गर्नेछन्। कार्यक्रममा स्थानीय लोक गायकको समेत सहभागी रहनेछ।

फाउन्डेसनले विगत पाँच वर्षदेखि जनकपुर साहित्य महोत्सव आयोजना गर्दै आएको छ। यस वर्षदेखि भने झिझिया महोत्सव आयोजन गर्न लागेको हो। 

“समयक्रम अनुसार झिझिया लोप हुँदै गएको छ। यसको जगेर्ना गर्नु हाम्रो जिम्मेवारी हो,” अध्यक्ष कुमारले भने, “झिझियाको महत्त्व र औचित्य नयाँ पुस्ताले पनि बुझुन् भन्ने ध्येयले प्रत्येक वर्ष झिझिया महोत्सव गर्ने योजना बनाएका छौँ।”