विकट क्षेत्रका नागरिकलाई सेवा दिन १० वटा विमान किन्न लागिएको होः मन्त्री किराती

१० वटा ट्विनअटर विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाइएको भन्दै उनले यसै आर्थिक वर्षभित्र विमान आइसक्ने बताए।

विराटनगर– पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विकट क्षेत्रका नागरिकलाई सेवा दिन १० वटा ट्विनअटर विमान खरिद गर्ने प्रक्रिया अघि बढाएको बताएका छन्। 

भएकै जहाज पनि सञ्चालन गर्न नसकेर ४८ अर्ब ऋणमा डुबेको नेपाल एयरलाइन्सले जहाज खरिद गर्न लागेको भन्दै चौतर्फी विवाद भइरहेको बेला उनले जहाज खरिद गर्ने योजनाबारे स्पष्ट पारेका हुन्। 

विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले पहाडी र हिमाली क्षेत्रका जनताले कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेकाले त्यस्ता क्षेत्रका जनताको सुविधाका लागि जहाज खरिद गर्न लागिएको बताए।

विकट गाउँमा सुत्केरी हुन नसकेको अवस्था भए पनि सबैले हेलिकप्टर चार्टर गर्न नसक्ने भएकाले मृत्युवरण गर्नुपर्ने अवस्थाबाट मुक्ति दिन पनि थप जहाज आवश्यक भएको मन्त्री किरातीले उल्लेख गरे।

१० वटा ट्विनअटर विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाइएको भन्दै उनले यसै आर्थिक वर्षभित्र विमान आइसक्ने बताए।