नेता र नेतृत्वमा रहेका व्यक्तिबाट कार्यक्रम उद्घाटन गर्ने परम्परा हटाउन जरुरी: सभामुख घिमिरे

फोटो पत्रकार केशवराज थोकरद्वारा लिखित पुस्तक 'लाइफ इन पेण्डामिक'को लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

काठमाडाैँ– सभामुख देवराज घिमिरेले उच्च तहका नेता र पदाधिकारी बोलाएर कार्यक्रमको उद्घाटन गर्नु सामन्तवादकै सिको भएको बताएका छन्। 

बुधबार काठमाडौँमा फोटो पत्रकार केशवराज थोकरद्वारा लिखित पुस्तक 'लाइफ इन पेण्डामिक'को लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले उच्च तहका नेता र नेतृत्वमा रहेका व्यक्तिहरूलाई बोलाएर कार्यक्रम उद्घाटन गर्ने परम्परा हटाउन जरुरी रहेको बताए।

साहित्यकार वा पत्रकारितामा जीवन बिताएका लेखकको पुस्तक भएकाले पुस्तक विमोचन कार्यक्रममा पत्रकारहरू नै प्रमुख अतिथि बनाउन योग्य हुने उनको भनाइ थियो। उनले राजतन्त्र हुँदा राजा वा राजाको परिवारहरूद्वारा विभिन्न ठाउँमा उद्घाटन, शिलान्यास लगायतका कार्यक्रममा हुने भन्दै अहिले पनि सोही कुरालाई निरन्तरता दिनु सामन्तवादकै सिको भएको उल्लेख गरे। 

"पुस्तक लोकर्पण कार्यक्रममा म नै किन आउनुपर्‍यो होला? यो विवेचनाको विषय हो। तपाईंहरूले यसमा विवेचना गर्नुस्, निष्कर्ष निकाल्नुस् र एउटा कन्सेप्ट बनाउनुस्," उनले भने, "विगतमा हाम्रो राजतन्त्र हुँदा उद्घाटन, शिलान्यास गर्न राजा वा राजाको परिवारलाई लगिन्थ्यो। किनभन्दा त्यो एउटा सेन्टर पावर थियो। सामन्तवादलाई अन्त्य गर्नको लागि खेलेको भुमिकामा पत्रकार जगतको भुमिका महत्त्वपूर्ण छ, तर हामी त्यसकै सिको त गरिरहेका छैनौँ?"

सभामुख घिमिरेले पुस्तक विमोचन कार्यक्रमको प्रमुख अतिथि पत्रकार वा साहित्यकार बनाएको भए व्यावहारिक हुने बताए।