हमास र हिजबुल्लासँग किन डराउँछ इजरायल?

पूर्वप्रवक्ता कोनिकोसका अनुसार एकैपटक चौतर्फी आक्रमण भएमा इजरायलका रकेट प्रतिरोधी सबै प्रणालीले देशवासीलाई जोगाउन हम्मेहम्मे पर्ने छ।

तस्वीर : एपी

अत्याधुनिक हतियार भएका उग्रवादी समूह हमास र हिजबुल्लाको आक्रमणको त्रासबाट इजरायल मुक्त हुन सकेको छैन। आतंककारी संगठन हिजबुल्लाका एक लाख तीस हजारभन्दा बढी रकेट र तीस हजार रकेट भएको हमासले इजरायलको अस्तित्वलाई सधैँ जोखिममा पारेको छ।

गाजा र लेबननबाट हमास र हिजबुल्लाद्वारा रकेट आक्रमण भएमा इजरायलीहरूको मृत्यु नहुन सक्छ किनकि रकेट प्रहार हुनेबित्तिकै देशभर खतराको सूचक साइरन बज्न थाल्छन् र नागरिकलाई सुरक्षितस्थलमा आश्रय लिन सहज हुन्छ।

इजरायलले प्रभावकारी रूपमा विकास गरेको ‘आइरन डोम’ रकेट आक्रमणलाई निस्तेज पार्न सफल छन् तर हमास र हिजबुल्ला दुवैले एकैदिन चार हजार रकेट आक्रमण एकैपटक गरेमा इजरायललाई त्यस्ता आक्रमणलाई सम्हाल्न कठिन हुने छ।

अमेरिकी सहयोगमा विकास गरिएका आइरन डोम मध्यम तथा लामो दुरीका रकेट, ब्यालिस्टिक मिसाइल, ड्रोनहरू, मानवरहित विमान आक्रमणलाई ९० प्रतिशत निष्फल बनाउन सक्षम छन् तर इजरायली सुरक्षा बल सम्भावित सामूहिक रकेट आक्रमणबाट सधै चिन्तित रहेका इजरायली प्रतिरक्षा बलका पूर्वअन्तर्राष्ट्रिय प्रवक्ता योनाटोन कोनिकोसले बताएका छन्।

बहुसंख्यक यहुदी जनसंख्या गाजाबाट हुन सक्ने रकेट आक्रमणको जोखिममा छ भने लेबननतिरबाट हिजबुल्लाले आक्रमण गर्ने खतरा पनि उत्तिकै रहेको उनी बताउँछन्।

इजरायलमाथि चौतर्फी आक्रमण भएमा जनधनको व्यापक क्षति हुने उनको अनुमान छ। पूर्वप्रवक्ता कोनिकोसका अनुसार एकैपटक चौतर्फी आक्रमण भएमा इजरायलका रकेट प्रतिरोधी सबै प्रणालीले देशवासीलाई जोगाउन हम्मेहम्मे पर्ने छ।

हिजबुल्लालाई इरानले निरन्तर सहयोग गरिरहेको इजरायलले बताउँदै आएको छ। सुन्नी र सिया समुदायसँग आबद्ध दुवै पृथकतावादी समूहले इजरायलमाथि एकीकृत एवं समन्वयात्मकरूपमा आक्रमण गर्ने त्रासबाट पनि इजरायल मुक्त नरहेको पूर्वप्रवक्ता कोनिकोसको विश्लेषण छ।