पार्टी सदस्यता लिएसँगै पद खोज्ने प्रवृत्तिप्रति ओलीको कटाक्ष–दुई महिनामा भैँसी ब्याउँदैन

सदस्यता लिनेबित्तिकै ठूलो पद प्राप्त गर्न प्रयास गर्ने गरेको भन्दै उनले कसैले चाहँदैमा दुई महिनामा भैँसी नब्याउने तर्क गरे।

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा संयमतापूर्वक सक्रिय हुन कार्यकर्तालाई निर्देशन दिएका छन्।

काठमाडौँमा बुधबार आयोजित कार्यक्रममा उनले सदस्यता लिनेबित्तिकै ठूलो पद प्राप्त गर्न प्रयास गर्ने गरेको भन्दै कसैले चाहँदैमा दुई महिनामा भैँसी नब्याउने तर्क गरे। 

उनले भने "तपाईंलाई चाहियो भन्दैमा दुई महिनामा भैँसी ब्याउँदैन। प्रकृतिमा अनुशासन छ। प्रकृतिमा नियम छ र मानव समाजमा पनि अनुशासन नियम चाहिन्छ, अनि मात्रै त्यसले सफल परिणाम प्राप्त गर्छ।"

कसैले चाहँदैमा प्रकृतिले आफ्नो स्वरूप नबदल्ने भन्दै एमाले पनि प्रकृति जस्तै नियममा हिँडिरहेको जिकिर गरे। त्यस्तै, पछिल्लो समय समाजमा अराजकता बढेको भन्दै ओलीले संर्कीण व्यक्तिहरूका कारण समस्या बढेको बताए। 

"अहिले समाजमा अराजकता बढेको छ। असहिष्णुता बढेको छ। त्यसले समाजमा परस्परमा घृणा फैलाउने कार्य भइराखेको छ। एकातिर राष्ट्रिय एकतालाई कमजोर बनाउने काम भइरहेको छ," उनले भने, "अर्कातिर समाज विकृत, गैर जिम्मेवार भइरहेको छ। यस्तो अवस्थामा जिम्मेवारीबोध कसरी गराउने? मान्छेलाई अनुशासितरूपमा कर्तव्य पथमा लाग्नुपर्छ भन्ने कुरा कसले बुझाउने?"