निर्वाचनपछि गठबन्धनकै सरकार : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले मुलुकमा स्थायी शान्ति र दिगो विकासका लागि संयुक्त लोकतान्त्रिक वाम गठबन्धन बनेको बताए।

ताप्लेजुङ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको ध्यान विकास र समृद्धितर्फ केन्द्रित भएको बताएका छन्।

बुधबार गठबन्धनद्वारा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले मुलुकमा स्थायी शान्ति र दिगो विकासका लागि संयुक्त लोकतान्त्रिक वाम गठबन्धन बनेको बताए।

उनले भने, “दिगो विकास, स्थायी शान्ति र समृद्धिसँगै संविधानको रक्षा गर्नु नै गठबन्धनको मूल दायित्व हो। देशभर नै गठबन्धनको पक्षमा चुनावी माहोल देखिएको हुँदा निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने छ।” 

परिवर्तनका लागि राजनीतिक आन्दोलन र घोषणा धेरै भए पनि विभिन्न कारणले समग्र विकासको गति अघि बढ्न नसकेको जनाउँदै उनले अब दृढ संकल्पसहित गठबन्धन अघि बढेको बताए।

मंसिर ४ को निर्वाचन प्रतिगामी शक्तिलाई परास्त गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउने अवसरका रूपमा लिन पनि उनले आग्रह गरे।

देश विकास गर्नका लागि गठबन्धन: प्रवक्ता डा. महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देश विकास गर्न गठबन्धन आवश्यकता रहको बताए। 

ताप्लेजुङको सदरमुकाममा वाम लोकतान्त्रिक गठबन्धनद्वारा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले देश विकास र संविधानको रक्षा गर्न गठबन्धन आवश्यकता रहेको बताए। 

देश अस्थिरताबाट जोगाउन र देश समृद्ध बनाउनका लागि गठबन्धन भएको उनले जनाउँदै यो गठबन्धनको लामो समयसम्म रहने दाबी गरे। 

उनले भने, “संसद् विघटनपछि यो गठबन्धन बन्न पुगेको हो। यो गठबन्धनले देश समृद्ध बनाउन बनेको छ। संविधानको रक्षा गर्दछ। गठबन्धनको अबको संकल्प देश विकास गर्नु नै हो।”