हरायो दशैँमा चंगा उडाउने चलन

दशैँमा सबैसँग जमघट हुने, टाढा भएका आफन्त, परिवार, साथीभाइ भेटघाटको समयमा चंगा बनाएर कसले माथि पुर्‍याउने भन्दै उडाउने चलन बिरानो भइसकेको छ।

फाइल तस्वीर

पाल्पा– दशैँका बेला चंगा उडाएर रमाइलो गर्ने जमात हिजोआज देखिँदैन। दशैँको चहलपहल शुरू भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चंगा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएको छ।

विभिन्न रङरोगनले सिँगारिएका बस्ती, बाटो, घर वरपर सरसफाइले सुन्दर बनेका गाउँबाट आकाशमा चंगा उडाउँदा दशैँको रमझम बढाउने गरेको रामपुरका लेखनाथ शर्मा मरासिनी बताउँछन्। 

“चाडपर्वमा सबैसँग जमघट हुने, गाउँघरदेखि टाढा भएका आफन्त, परिवार, साथीभाइ भेटघाटको समयमा चंगा बनाएर कसले माथि पुर्‍याउने भन्दै अकाशमा उडाउँदा चाडपर्वको उमंग बढाउँथ्यो,” उनले भने, “अहिले त चंगा उडाउने गरेको देखिनै  छाड्यो।”

खुला आकाशमा चंगा उडाउँदा वातावरण नै सुन्दर बन्थ्यो। नयाँ पुस्तालाई दशैँमा चंगा उडाउने संस्कृतिबारे जानकारी नै नभएको उनको भनाइ छ। पुरानो संस्कृतिलाई अनुसरण गर्दै हिजोआज भने केही विद्यालयमा तल्ला कक्षामा पढ्ने साना–साना बालबालिकालाई दशैँका बेला चंगा बनाएर देखाउन थालिएको छ।

खुला आकाशमा चंगा उड्दा गाउँमा निकै रमाइलो उत्साह छाउँथ्यो। मनोरञ्जन मात्रै नभई परिवारमा खुशी, साथीभाइबीचको सम्बन्ध प्रगाढ बनाउने गरेको सुदीप गैरे बताउँछन्।

हिजोआज बढ्दो सूचना प्रविधिको विकासले आकाशमा प्रतिस्पर्धात्मक रूपमा चंगा उडाएर मनोरञ्जन लिने चलन कतै देखिँदैन। “सबै मोबाइलमा व्यस्त छन्,” उनले भने, “अनि संस्कृति जोगाउन कसले ध्यान दिने?” 

पहिचान बोकेका पुरानालाई जोगाउन सरकारले नै योजना ल्याउनुपर्ने उनको भनाइ छ।