गाजामा सहायता सामग्री पठाउन नाका खोल्ने सहमति

अक्टोबर ७ यता गाजामा प्रवेश गर्ने यो पहिलो अन्तर्राष्ट्रिय राहत हुनेछ। इजरायलले भने सहायता सामग्री पुर्‍याउने निहुँमा हतियार हमासको हातमा पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ। 

तस्वीर: रोयटर्स

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार युद्धग्रस्त गाजामा अत्यन्त जरुरी मानवीय सहायता पुर्‍याउन अनुमति दिने एक सम्झौता गरेका छन्। 

इजरायलमा प्रत्यक्ष भेटवार्ता र इजिप्टसँग टेलिफोन वार्तापछि इजिप्टबाट गाजामा प्रवेश गर्नका लागि बन्द भएको रफाह नाका पार गर्न शुक्रबारदेखि सीमित संख्यामा ट्रकहरूलाई अनुमति दिने सहमति भएको बाइडेनले बताए।

अक्टोबर ७ यता गाजामा प्रवेश गर्ने यो पहिलो अन्तर्राष्ट्रिय राहत हुनेछ। उता, इजरायलले भने सहायता सामग्री पुर्‍याउने निहुँमा हतियार हमासको हातमा पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ। 

सीमामा नियन्त्रण गरेको इजिप्टलाई प्रवेशद्वार खोल्दा शरणार्थीहरू आफ्नो भूमिमा आउने चिन्ता छ। अमेरिकी राष्ट्रपति बाइडेनले शुरूमा २० वटा ट्रक गाजामा प्रवेश गर्ने र सबै पक्षबीच सहमति भए अरु ट्रक पठाइने बताए। “हामी सम्भव भएसम्म धेरैभन्दा धेरै ट्रकलाई पठाउन चाहन्छौँ,” उनले भने, “यदि हमासले ट्रकलाई नियन्त्रणमा लिन्छन् र लक्षित स्थानमा पुर्‍याउन दिँदैनन् भने ट्रक पठाउने काम यहीँ बन्द हुन्छ, हामी हमासलाई कुनै पनि मानवीय सहायता पठाउने छैनौँ।”

राष्ट्रसंघीय अधिकारी ग्रिफिथ्सले गाजामा मानवीय सहायता पूरा गर्नका लागि प्रतिदिन १०० ट्रकको आवश्यकता रहेको बताए। 

इजरायली हमलाबीच गाजाबाट १० लाखभन्दा बढी सर्वसाधारण घर छाडेर भागेका छन्। 

अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गर्दा एक हजार ४०० को मृत्यु भएको छ। हमासले करिब २०० लाई बन्धक बनाएको छ। त्सयता इजराइलले प्यालेस्टिनी क्षेत्रलाई घेरा हालेर हवाई हमला शुरू गरेको छ। 

संयुक्त राष्ट्रसंघ र मानवतावादी समूहले गाजामा सैन्य पकडलाई कम गर्न पानी, खाद्यान्न, इन्धन र औषधि आपूर्तिको अनुमति दिन आग्रह गरेका छन्।