एउटा पार्टीलाई मात्रै सरकार चलाउन दिनुपर्छ : गगन थापा

नेपाली कांग्रेस महामन्त्री गगन थापाले सत्तारूढ गठबन्धनका नेताहरूले उल्लेख गरेअनुसारको राष्ट्रिय सहमतिको सरकार गठन आवश्यक नरहेको बताए।

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले एउटा पार्टीलाई मात्रै सरकारको नेतृत्व गर्न दिनुपर्ने प्रस्ताव गरेका छन्। बिहीबार नेपाल प्रेस युनियन काठमाडौँले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले एउटा पार्टीको मात्रै सम्पूर्ण मन्त्रिमण्डल रहने गरी सरकार चलाउनुपर्ने बताएका हुन्।

समयसीमा तोकेर एउटा पार्टीलाई मात्रै सरकार चलाउन दिनुपर्ने र उसले सरकार चलाएको हो त्यो कालखण्डको पूर्ण जिम्मेवारी उसले लिनुपर्ने भनाइ छ। “जसको नेतृत्वमा सरकार चलाउने हो निश्चित समय उसलाई एक्लै चलाउन दिनुपर्छ,” उनले भने, “एक दुई वर्ष जति हामीले पाउँछौँ, जुन कालखण्ड चलाउँछौँ एक्लै हामी चलाउनुपर्छ। २५ जना मन्त्री कांग्रेसको राखेर चलाउनुपर्छ। र त्यति बेलाको एक–एक हिसाब कांग्रेस दिन तयार हुनुपर्छ।”

उनले सत्तारूढ गठबन्धनका नेताहरूले उल्लेख गरेअनुसारको राष्ट्रिय सहमतिको सरकार गठन आवश्यक नरहेको बताए। राष्ट्रिय सहमतिको सरकार बनाउँदा र धेरै भागबन्डा गर्दा झन् ठूलो समस्या उत्पन्न हुने उनको भनाइ छ। 

उनले निर्वाचनपूर्व गरिने गठबन्धनले लोकतान्त्रिक संस्कृतिलाई विकृत बनाउने बताए। उनले निर्वाचनपूर्वको गठबन्धन सैद्धान्तिक रूपमा गलत रहेको उल्लेख गर्दै कांग्रेसका आगामी महासमिति बैठक निर्वाचनपूर्वको गठबन्धनको विपक्षमा उभिनुपर्ने बताए। उनले ०८४ सालको चुनावमा गठबन्धन गरेर नजाने दाबी गर्दै गठबन्धन भए कांग्रेस पार्टी एक नरहने चेतावनी दिए। “गठबन्धन गरेर जान्छु भन्यो भनेदेखि त्यो बेलामा नेपाली कांग्रेस पार्टी एक रहने कुराको कल्पना नगरे हुन्छ। क्लियर कुरा गरेको छ। यसमा कहीँ अलमल छैन,” उनले भने। 

महामन्त्री थापाले वर्तमान सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाएमा कांग्रेसले नमान्ने बताए। उनले कांग्रेसले फागुन १ गतेलाई कुनै पनि दिवसको रूपमा स्वीकार नगर्ने प्रष्ट पाए। महामन्त्री थापाले कांग्रेसलाई रूपान्तरण गर्नुपर्ने भन्दै यसको निम्ति सबै पार्टी कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताए।