खाद्यान्न र चिनी आपूर्तिको समस्या आजदेखि हल हुन्छ : प्रधानमन्त्री

जनतालाई कुनै प्रकारको असुविधा नहोस् र उपभोग्य वस्तुहरू सहज र निरन्तर आपूर्ति भइरहोस् भन्नेमा सरकार जिम्मेवार रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।

काठमाडौँ– प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाडपर्व नजिकिएसँगै खाद्यान्नको आपूर्ति सहज बनाउन र महँगी नियन्त्रणजस्ता कामहरूमा सरकार लागिरहेको बताएका छन्। बिहीबार दशैँका अवसरका शुभकामना दिँदै उनले खाद्यान्न तथा चिनीको आपूर्ति बिहीबारदेखि सहज हुने बताए। 

“खाद्यान्न आपूर्ति तथा चिनीको समस्या आजदेखि हल हुने भएको छ,” उनले भने, “त्यसका साथसाथै महँगीले गर्दा जनतालाई अलि असहज हुन्छ कि भन्ने थियो। त्यसकारण जनताको लागि सुपथ व्यवस्थादेखि कृत्रिम अभाव र महँगी नहोस् भन्नका लागि अनुगमन प्रक्रियालाई अझ बढी प्रभावकारी बनाउने कोशिश गरिएको छ।”

उनले नेपाली जो जहाँ गए पनि सबै सांस्कृतिक पर्वहरूले एउटै सूत्रमा बाँध्ने काम गरेको बताए। “यी सबै सांस्कृतिक पर्वहरू नै हुन् जसले हामी नेपालीहरूलाई जो जहाँ गए पनि एउटै सूत्रमा बाँध्ने काममा महत्त्वपूर्ण भूमिका खेलेको छ,” उनले भने।

यस्ता ऐतिहासिक सांस्कृतिक पर्वहरूका सम्बन्धमा देशमा कुनै अप्रिय घटना नहोस्, जनतालाई कुनै असुविधा नहोस् र खाद्यान्नलगायत उपभोग्य वस्तुहरू सहज र निरन्तर आपूर्ति भइरहोस् भन्ने कुरामा सरकार जिम्मेवार रहेको उनको भनाइ छ।