बेलायती विश्वविद्यालयको स्नातकोत्तर तहमा जादु र तन्त्रविद्या समावेश

जादु र तन्त्रविद्या मानव जीवनसँग जोडिएको भन्दै यसलाई 'मास्टर्स डिग्री'मा पढाइन थालिएको विश्वविद्यालयले जनाएको छ।

के तपाईं जादु तथा तन्त्रविद्यामा चासो राख्नुहुन्छ र अध्ययन गर्न रुचाउनुहुन्छ? त्यसो हो भने यसैमा स्नातकोत्तर गर्न सक्नुहुन्छ।

बेलायतको एक्सटर विश्वविद्यालयले जादु तथा तन्त्रविद्यामा 'मास्टर्स डिग्री' अर्थात् स्नातकोत्तर तहको पढाइ सञ्चालन गर्ने भएको छ। सन् २०२४ को सेप्टेम्बरदेखि कक्षा शुरू हुने विश्वविद्यालयले जनाएको छ। 

यस शैक्षिक कार्यक्रमकी संयाेजक प्रोफेसर इमिली सेलोभले पछिल्लो दशकमा बढ्दै गरेको जादुप्रतिका अनेक धारणालाई यो पढाइले नयाँ आकार दिने बताएकी छन्। आधुनिक मानिसहरूमा जादुको महत्त्व नभएको भन्दै पछिल्ला दशकमा जादु पढाइ हुने कोर्सहरू पढाइन बन्द छ। तर जादु र तन्त्रविद्या मानव जीवनसँग जोडिएको भन्दै यसलाई स्नातकाेत्तरमा पढाइन थालिएको उनको भनाइ छ। 

विश्वविद्यालयमा जादु र तन्त्रविद्याको पढाइले पश्चिममा व्याप्त विज्ञानवाद र बाँकी विश्वमा जादु र अन्धविश्वास रहेको भन्ने धारणालाई पुनः परीक्षण गर्ने बताइएको छ। विश्वका चर्चित तथा अनुभवी जादुगर तथा तन्त्रविद्याका साधकहरूबाट अध्यापन गराइने छ। 

प्रयोगात्मक पढाइमा बढी जोड दिइनेछ। पूर्णकालीन कोर्सको लागि एक वर्ष र आंशिकको लागि दुई वर्षको समय छुट्याएको छ।